सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), पुस २७ गते । राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पत्रदयात्रा सुरु गरेको छ ।
आइतबार सुनसरीको विजयपुरगढीदेखि धनकुटाको साँगरीगढी–पाख्रीबाससम्म पदयात्रा सुरु गरेको हो । पदयात्रा सुनसरीको ऐतिहासिकस्थल विजयपुरगढीदेखि सुरु भई धरानको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रिबासमा पुगेर समापन हुने छ ।
पदयात्राको पहिलो दिन सुनसरीको विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म गरिएको छ । यस्तै, दोस्रो दिन साँगुरीगढिदेखि पुनः पदयात्रा सुरु हुने र ३० गते पाख्रीबासमा पुगेर समापन हुने छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा गरिएको श्री भीमदल गण सल्लेरी धनकुटाका गणपती गणेश थापाले बताउनु भयो ।
उहाँले भन्नु भयो, “पदयात्राले ऐतिहासिक रूपमा रहेको विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्धनका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले पदयात्रा गरिएको गणपति थापाले बताउनु भयो ।
साँगुरीगढी जहाँ एउटा यस्तो थलो रहेको छ जुन नेपाल एकीकरणताका एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहका सेनाका कमान्डर अभिमानसिंह बस्नेतले वि.सं. १८३१ मा साँगुरीगढीमा गोर्खाली फौज पठाइ नियन्त्रणमा लिएर त्यहीँबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरिएको थियो ।
कार्यक्रममा पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले पदयात्रासँगै इतिहास संरक्षमा लोगेको बताउनु भयो । यस्तै, उहाँले नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबास लगायतको स्थानमा पुग्न प्रयोग भएका मार्गलाई जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पदयात्रा गरिएको समेत बताउनु भयो ।
यस अवसरमा खुला महिला र पुरुषतर्फ १० किलोमिट र १६ वर्ष उमेर समूहका विद्यार्थीका लागि ५ किलोमिटरको प्रतियोगिता आयोजना गरिएको छ । खुला पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रहेको छ । यस्तै ५ किलोमिटर विद्यार्थी महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १२ हजार, ८ हजार र ५ हजार रुपियाँ पुरस्कार वितरण गरिएको छ ।