• २७ पुस २०८२, आइतबार

हुलाकी सडकको लागि थप बजेट माग

blog

हुलाकी सडक योजना कार्यालय नेपालगन्ज । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, पुस २७ गते । हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको करिब ५० किलोमिटर सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका अनुसार हुलाकी राजमार्गमध्ये बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरदेखि दाङको राजपुर गाउँपालिकाको गौगदीसम्म करिब ५० किलोमिटर सडकखण्ड निर्माणको काम बाँकी रहेको छ । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले पहिलो चरणमा दाङ खण्डको करिब २५ किलोमिटर सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिनु भयो । 

योजना प्रमुख भण्डारीले भन्नु भयो, “सडक निर्माणको श्रोत सुनिश्चित्ताका लागि राष्ट्रिय योजना आयोगमा फाइल पुगेको छ, स्वीकृत भएपछि सडक निर्माण कार्य अघि बढ्ने छ ।”

अधिकांश खण्डमा ट्रयाक मात्रै खनिएको यो सडकको कुल लागत अनुमान करिब तीन अर्ब रुपियाँ रहेको छ । यसैगरी दाङको सीमा हाडबासदेखि हाल हुलाकी सडक पुगेको बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरसम्म करिब २५ किलोमिटर सडक पनि निर्माण हुन बाँकी छ । 

हुलाकी सडक योजना कार्यालयले दाङखण्ड निर्माणका लागि स्वीकृत भएपछि बाँके खण्ड पनि निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ । दाङ खण्डभन्दा बाँके खण्डको बाँकी भाग भौगोलिक हिसाबले बढी चट्टान भएको जोखिमयुक्त रहेको छ ।  हुलाकी सडकको निर्माण भएपछि पश्चिम तराईका जिल्लामा पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकको काम गर्ने छ ।