झापा, पुस २७ गते । मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भक्का पिठ्ठा उत्सव मनाएका छन् । मेचीनगर–७, इँटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय किलो चालमको पिठोको भाक्का बनाइएको हो ।
रैथाने परम्परागत खाद्य परिकारका रूपमा रहेको भाक्कालाई प्रवर्धन र सम्बर्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताउनु भयो । भाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भाक्का उत्सवले पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताउनु भयो । उहाँले २५ भन्दा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोवास रहेको जानकारी दिनु भयो ।
नगरका १५ वटै वटाबाट ३० जना जातीय पोसाक र गरगहनामा सजिएका राजवंशी समुदायका महिलाले भक्काका परिवारका बनाएका छन् । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भक्का खाने पुरानो चलन हो । धानको पीठोबाट बनाइएको भक्का पोसिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिरहेको छ ।
मङ्सिरबाट जिल्लाका काँकडभिट्टा, इँटाभट्टा, बिर्तामोड, भद्रपुर, दमकलगायत सहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक तथा बजारमा भक्का बनाएर राजवंशीलगायत अन्य समुदायले बिक्री गर्दै आएका छन् । पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भक्का खानु स्वास्थ्यका लागि अति उत्तम हुने मेचीनगर नगरपालिका–७ वडाध्यक्ष प्रल्हाद ओलीले बताउनु भयो । उहाँका अनुसार जिल्लाभरका राजवंशी समुदायले यही पुस २९ गतेलाई भक्का दिवसका रूपमा नौ वर्षदेखि मनाउँदै आएका छन् । रासस