• २७ पुस २०८२, आइतबार

हात्ती आक्रमणबाट पीडितलाई राहत वितरण

blog

लहान नगरपालिका-१६, आरी दमारमा जङ्गली हात्तीकोआक्रमणबाट पीडित परिवारलाई लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले राहत वितरण गर्नु हुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, पुस २७ गते । लहान नगरपालिकाको उत्तरी भृगमा चुरे पर्वतको छेउमा पर्ने वडा १६ आरी दमारका हात्ती आक्रमण पीडितलाई लहान नगरपालिकाले राहत दिएको छ। 

पुस १७ गते उदयपुरको आमचौर क्षेत्रबाट राती नौ बजेको समयमा आएको हात्तीले पहिलो दिन ६ घर परिवारमा र दोस्रो दिन थप चार परिवार गरी दस घर परिवारमा चार वटा हात्तीले तोडफाेड गरेका थिए । घरमा भएका मकै चामल र खेत बारीमा लगाएका आलु तोरी केरा क्षति गरेका थिए । 

हात्तीको आक्रमणबाट बहादुर थापा मगर, भक्त बहादुर मर्स्याङग्री मगर, भोपालबहादुर मगर, रामबहादुर मगर, जलबहादुर मगर, दुर्गाबहादुर थापा मगर, लालबहादुर थापा सहबहादुर बल्मफकी र रमित बलम्फकी मगरको घरमा क्षति भएको थियो । 

पीडित भएका दसै जनालाई लहान नगरपालिकाले प्रति परिवार पचास किलो चामल र दस हजार नगद राहत दिएको हो । राहत वितरण गर्दै लहान नगरपालिका प्रमुखले हात्ती आक्रमणबाट पीडित भएका परिवारसहित लहान नगरपालिकाको विकट गाउँ मानिएको आरी दमार, बरदमार र भसुवाका विपन्न परिवारहरूलाई समेत शीतलहरबाट जोगिन हात्ती आक्रमण पीडित दस परिवारसहित चालिस जनालाई फाइबर सिरक वितरण दिइको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले थप्नु भयो,‘‘दुई छोरा मध्ये जेठो छोरा मलेसियामा मृत्यु भएको र कान्छो छोरा क्यान्सर रोग लागेर मृत्यु भएको राम विश्वकर्माको घरमै पुगेर एक क्विन्टल चामल, पच्चिस हजार नगद सहयोग र फाइबर सिरक राहत दिएका छौँ ।’’

राहत वितरण गर्न गएका नगर प्रमुख चौधरीलाई ८० वर्षको वृद्धवृद्धा अपाङ्ग र ११ दिनको काखे शिशुलाई लिएर तीन दिनसम्म नजिकै रहेको डाँडामा रात बिताउनु परेको पीडा स्थानीयहरूले सुनाउनु भयो । लहान नगरपालिकाले शीतलहरको कहरबाट विपन्न परिवारहरूलाई जोगाउन आठ सय फाइबर सिरक वितरण गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले जानकारी गराउनु भयो । 

जङ्गली हात्ती लहान नगरपालिकाको वडा १६ आरी दमारदेखि उत्तरको बाटो लागेर धनगडीमाई नगरपालिका अम्बास क्षेत्रतर्फ लागेको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले बताउनु भयो । प्रत्येक आठ दस वर्षको फरका त्यस भेगमा हात्ती आक्रमण हुँदै आइरहेको छ । दस वर्ष अगाडि त्यहि बाटो भएर जङ्गली हात्तीले गरेको आक्रमणबाट सप्तरी, सिराहा र धनुषामा दस जनाको मृत्यु भएको थियो ।