• २७ पुस २०८२, आइतबार

ड्रोन आरोपमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग

blog

सियोल, पुस २७ गते । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उनकी प्रभावशाली बहिनी किम यो जोङले आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको दाबी गर्दै दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गर्नु भएको छ । उहाँले दक्षिण कोरियाबाट उडेको भनिएको ड्रोन उत्तर कोरियाली भूभागमा प्रवेश गरेको आरोप लगाउनुभएको हो ।

उत्तर कोरियाले शनिबार जनवरीको सुरुमा दक्षिण कोरियाको सीमावर्ती काउन्टी गाङवाबाट उडेको एक मानव रहित हवाई यान उत्तर कोरियाली सहर केसोङमा प्रवेश गरेको र गोली हानेर खसालिएको दाबी गर्दै त्यसका भग्नावशेषका तस्वीर सार्वजनिक गरेको थियो । तर सियोलले यो आरोप अस्वीकार गर्दै आफ्नो रक्षा मन्त्रालयमार्फत उक्त ड्रोन दक्षिण कोरियाली सेनाले प्रयोग गर्ने मोडेल नभएको स्पष्ट पारेको छ ।

राज्यद्वारा सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार किम यो जोङले दक्षिण कोरियाको आधिकारिक नाम प्रयोग गर्दै ‘सौभाग्यवश, दक्षिण कोरियाली सेनाले यो आफैँले गरेको होइन र हामीलाई भड्काउने वा रिसाउने कुनै उद्देश्य नभएको आधिकारिक धारणा सार्वजनिक गरेको छ’ भन्नुभयो । तर उहाँले ‘हाम्रो गणतन्त्रको दक्षिणी सीमा पार गरेको ड्रोनको वास्तविक घटनाबारे विस्तृत व्याख्या गरिनुपर्छ’ भन्ने माग गर्नुभयो ।

उत्तर कोरियाको आरोपको जवाफमा दक्षिण कोरियाली सेनाले आफ्नो प्रारम्भिक अनुसन्धानले उक्त समयमा कुनै पनि मानव रहित हवाई यान सञ्चालन नगरिएको र प्रश्नमा उठाइएको वस्तु ड्रोन नै नभएको निष्कर्ष निकालेको जनाएको छ । राष्ट्रपति ली जे म्युङले यस घटनाबारे संयुक्त सैन्य-प्रहरी अनुसन्धान टोलीमार्फत ‘छिटो र कडा अनुसन्धान’ गर्न निर्देशन दिनुभएको छ ।

यदि कुनै सर्वसाधारणले ड्रोन सञ्चालन गरेको प्रमाण भेटिएमा त्यसलाई गम्भीर अपराध मानिने भन्दै राष्ट्रपति लीले यसले कोरियाली प्रायद्वीपको शान्ति र राष्ट्रिय सुरक्षामा खतरा पुर्याउने चेतावनी दिनुभएको छ । तर किम यो जोङले उक्त ड्रोन सैन्य हो वा नागरिक भन्ने कुरामा आफूलाई चासो नभएको भन्दै ‘त्यो हामी जान्न खोजेको मुख्य विषय होइन’ भन्नुभयो । 

उहाँले ‘स्पष्ट रूपमा आरओकेबाट आएको ड्रोनले हाम्रो देशको हवाई क्षेत्र उल्लङ्घन गरेको छ’ भन्दै दक्षिण कोरियाप्रति कडा शब्द प्रयोग गर्नुभयो । किम यो जोङको यस वक्तव्यलाई विश्लेषकहरूले प्योङयाङले यस घटनालाई सैन्यभन्दा बढी कूटनीतिक मुद्दाका रूपमा अगाडि बढाउन खोजेको सङ्केतका रूपमा हेरेका छन् ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनका अनुसार किम यो जोङको भनाइले तत्काल सैन्य तनाव बढाउने इरादा नरहेको देखाउँछ, तर स्पष्टीकरणको मागले कूटनीतिक दबाब बढाउने सम्भावना जनाउँछ । यो नयाँ ड्रोन विवाद दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलविरुद्ध चलिरहेको मुद्दाको पृष्ठभूमिमा आएको हो । उहाँमाथि प्योङयाङको प्रतिक्रिया उक्साउने उद्देश्यले अवैध रूपमा ड्रोन सञ्चालनको आदेश दिएको आरोप लागेको छ । युनलाई गत वर्ष अप्रिलमा मार्सल ल लागू गर्ने प्रयासका कारण महाभियोग लगाई पदबाट हटाइएको थियो । रासस/एएफपी