• २७ पुस २०८२, आइतबार

जुम्लाको आवासीय विद्यालयमा पुस्तकालय स्थापना

blog

हिमा गाउँपालिका आवासीय विद्यालयमा स्थापना गरिएको पुस्तकालय । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, पुस २७ गते । जुम्लाको दुर्गम आवासीय विद्यालयमा अन्तराष्ट्रिय स्तरका सात हजार पुस्तक सङ्कलित पुस्तकालय स्थापना गरिएको छ । जुम्ला हिमा गाउँपालिका वडा ५ स्थित हिमा आवासीय विद्यालयमा अष्ट्रेलिएन लेखक तथा प्रशिक्षक ग्याविन केम्रानले आफ्नो देशमा संकलन गरेका पुस्तक नेपाल ल्याएर हिमा गाउँपालिकाको आवासीय विद्यालयमा स्थापना गरेका छन् । 

हिमा गाउँपालिकाले स्थापना गरेको अनाथ बालबालिकाका लागि सो आवासीय विद्यालयमा पुस्तकालयसहित त्यस विद्यालयको चार कोठामा डेक्स, वेन्च, कार्पेट र रङ्गरोगन गरिएको छ । बरिष्ठ पत्रकार मनऋषि धितालको सहजीकरणमा ग्याविनसहित ५ जनाको टिम सो विद्यालयमा पुगेर आफै श्रम गरेर सो रङ्गरोगनको काम गरेको छ । 

दुर्गम स्थानमा पुस्तकालय र कक्षाकोठा छापामय भएपछि स्थानीय सरकार र सरोकारवालाले धन्यवाद दिएका छन् । पुस्तकालय हस्तानान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सात समुन्द्रपारिबाट आएर गाउँको विद्यालयमा पुस्तक बनाइदिएकोमा लेखक ग्याविन र सहजकर्ता धितालको टमलाई धन्यवाद दिनुधभयो । उहाँले यो विद्यालयमा गरेको नम्ना कामको सिकाई भएको बताउँदै यसको संरक्षण गाउँपालिकाले गर्नेमा जोड दिनुभयो । 

सहयोेगी अष्ट्रेलियन लेखक ग्याविनले आफूले सानो सानो रकम र किताब जुटाएर यहाँ काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुस्तकालयको संरक्षण गर्न समेत अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले राम्रो कामका लागि सहयोगी निकाय र गाउँपालिकालाई धन्यवाद दिनुभयो । वरिष्ठ पत्रकार मनशऋषि धितालले यस कार्यको लागि समन्वयमा सहयोग गर्ने गाउँपालिका सहित सरोकारवाला सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

हिमा आवासीय विद्यालयका शिक्षक कालेबहादुर शाहीले बालबालिकको कक्षाकोठा सुधार गरिदिएकोमा सहयोगी निकायलाई धन्यवाद दिनुभयो । विद्यालय छापामय र पुस्तकालय स्थापना भएपछि विद्यार्थी पनि खुशी भएका छन् । विद्यार्थीहरुले बस्ने कार्पेट राम्रो नभएको विद्यालयमा कार्पेट सहित डेक्स बेन्च हाालेपछि पढ्न सजिलो हुने बताएका छन् । उनीहरुले सो कामका लागि सहयोगी र स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । 

अनाथ र विपन्न वालवालिकाको अध्ययन सुरुक्षित गर्नका लागि हिमा गाउँपालिकाका प्रथम अध्यक्ष रजबहादुर शाही र उपाध्यक्ष हिमाली रोकायाको कार्यकालमा स्थापना गरिएको थियो । सो विद्यालय हाल स्थानीय सरकारले थप राम्रो गर्नका लागि प्रयास गरिरहेको छ । पुस्तकालय र विद्यालयमा सहयोग गर्ने सहयोगी व्यक्तिलाई गाउँपालिकाले सम्मान समेत गरेको छ ।