मुस्ताङ, पुस २७ गते । हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।
हिउँदयामको मौसममा यहाँको पर्यटन व्यवसाय ठप्पै हुने गर्छ । यसैका कारण यहाँ हुन पर्यटकीय ‘अफसिजन’को छेकोमा यहाँका पर्यटन व्यवसाय जाडो छल्ने बहानामा बेँसीतर्फ झर्छन् । पछिल्लो समय बेनी–जोमसोम सडक सहज भएकाले यहाँ कतिपय पर्यटन व्यवसायी पर्यटक पर्खिएर बसेका छन् । हिउँदयामको अत्यधिक चिसो बढेसँगै पोखरा–जोमसोम हवाइसेवा एक महिनाअगावै उडान स्थगित भइसकेको छ । राष्ट्रिय राजमार्ग सडकमा पनि पर्यटक सवार सवारीसाधनको चाप निकै न्यून भइरहेको छ ।
माथिल्लो मुस्ताङमा गत कात्तिकमा यस यामको पहिलो हिमपात भएको थियो भने तल्लो मुस्ताङमा हिमपात भएको छैन । तर, यहाँ हिउँदयामसँगै अत्यधिक चिसो र उत्तरी हावाहुरीको प्रभावले जनजीवन प्रभावित बनेको छ । पुस लागेसँगै यतिबेला बिहान र बेलुकीका समयमा माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिगी सेल्सियस र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्री सेल्सियससम्म झर्ने गरेको छ ।
यहाँ हिउँदयामको उन्मादको उत्तरी हावाहुरीको प्रभावका कारण स्थानीय नागरिक सहजै घर बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन । यहाँ मध्याह्नपख मौसम खुलेर घाम लागे पनि उत्तरी हावाहुरीसँगै चिसो सिरेटो चल्न थालेपछि दैनिक जनजीवनका असर परेको छ ।
अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङका लोमान्थाङका होटल र स्थानीयका घर पूरै बन्द छन् । त्यहाँका नागरिक घरमा ताल्चा मारेर जाडो छल्न बेँसी झरिसकेकाले माथिल्लो मुस्ताङ पूरै सुनसान बनेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो । यहाँस्थित मुक्तिनाथका होटल खुले पनि पर्यटकीय चहलपहल देखिँदैन ।
होटल र घरका स्थानीय नागरिक पर्यटकीय अफसिजन भएकाले आलोपालो गरेर बेँसी झर्ने गरेका छन् भने आंशिक जनशक्तिले होटल खोलेर बसेका छन् । बर्खायाममा खचाखच पर्यटकले भरिने यहाँका अधिकांश होटलले अफसिजनका कारण खाली भएका छन् । हिउँदयामको पुस र माघ महिना अधिकांश मुस्ताङवासी जाडो छल्न बेँसी झर्छन् । माथिल्लो मुस्ताङका नागरिक भने कात्तिक नलाग्दै जाडो छल्न बेँसी झर्ने र वैशाख लागेपछि मात्रै माथि उक्लिन्छन् ।
हिउँदयाम अत्यधिक चिसोसँगै माथिल्लो मुस्ताङमा खोला, शाखा नदी, घरका धारा, सिँचाइ कुलो र घरका सेफ्टी ट्याङकी जमेर बरफ बनेपछि त्यहाँका स्थानीय नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ । जाडो छल्न बेँसी नझरी गाउँ कुरेर बसेका स्थानीय नागरिकको स्वास्थ्यमा चिसोले असर पुर्याउने गरेको छ । तल्लो मुस्ताङमा स्थानीय किसान अत्यधिक चिसो सहँदै स्याउ बगैँचा व्यवस्थापन कार्यमा लागेका छन् ।
हिउँदयाम लागेसँगै यहाँ पर्यटकीय चहलपहल ह्वात्तै घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मङ्सिरको तुलनामा पुसमा विदेशी पर्यटक बढे पनि स्वदेशी पर्यटकको सङ्ख्या घटेको छ । मङ्सिरको तुलनामा पुसमा २४ हजार १० अर्थात् ५६ दशमलव ६६ प्रतिशतले स्वदेशी पर्यटकको आगमन घटेको छ ।
यस वर्षको मङ्सिरभन्दा पुसमा विदेशी पर्यटकको आगमन सङ्ख्या पाँच हजार ५५९ अर्थात् ५४ प्रतिशतले वृद्धि भएको छ । प्रहरी स्रोतका अनुसार बेनी–जोमसोम सडकमार्ग हुँदै अझै पनि दैनिक एक–डेढ सय पर्यटक मुस्ताङ आउने गरेको जनाइएको छ । पर्यटकीय याम जस्तो चहलपहल नभए पनि आंशिक रुपमा पर्यटक चिसोयाममा पनि आउने गरेको पाइएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयको पर्यटकीय अभिलेखअनुसार गत आवको साउनदेखि पुससम्म पर्यटकीय आगमनको तुलना गर्दा चालु आवको साउनदेखि पुस २१ गतेसम्म १० दशमलव शून्य पाँच प्रतिशतले पर्यटक आगमन घटेको देखिन्छ । गत आवको सुरुआती छ महिनामा तीन लाख १२ हजार ४७१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । चालु आवको पुस २१ गतेसम्म हिमाली दुई लाख ८० हजार ९२९ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।
चालु आवको साउनदेखि पुस २१ गतेसम्म दुई लाख २१ हजार ६५३ आन्तरिक र ६० हजार ३४७ बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । चालु आवको साउनमा एघार हजार ८३१, भदौमा १३ हजार ५५०, असोजमा ६५ हजार ७४०, कात्तिकमा ७९ हजार ८००, मङ्सिरमा ४२ हजार ३७१ र पुस २१ सम्ममा १८ हजार ३६१ जना आन्तरिक पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।
यसैगरी, साउनमा सात हजार ९५०, भदौमा नौ हजार ६५५, असोजमा नौ हजार ८५९, कात्तिकमा १३ हजार ९६६, मङ्सिरमा छ हजार ६७९ र पुस २१ गतेसम्म १२ हजार २३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । रासस