• २७ पुस २०८२, आइतबार

दाङमा बस दुर्घटना, ८ जना घाइते

blog

दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत रावत गाउँमा दुर्घटनामा परेको बस । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, पुस २७ गते । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहनगरपालिका–१६, रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएका हुन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख. ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटनामा हुँदा बसमा सवार आठ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनु भएको छ । 

उहाँका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक बमका अनुसार बस आइतवार दिउँसो करिब १२: ३० बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।