नारद कोहार
तौलिहवा(कपिलबस्तु), पुस २७ गते । कपिलवस्तु जिल्लामा परम्परागत माटोको भाँडाकुँडा कलालाई संरक्षण गर्दै आधुनिक समयसँग जोड्ने उद्देश्यका साथ सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम दिइएको छ । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (यु.एम.एन.) को संयुक्त साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाको आयोजनामा तथा सिया आर्टको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो ।
यशोधरा गाउँपालिकाका वडा नम्बर १, २ र ३ का ११ जना उद्यमीलाई माटोको भाँडा, मूर्ति निर्माण तथा बजारीकरणसम्बन्धी व्यावहारिक तालिम प्रदान गरिएको परियोजनाका परियोजना अधिकृत रमेश कुर्मीले जानकारी दिनु भयो । तालिमको उद्देश्य स्थानीय कलाकारको सीप अभिवृद्धि गर्दै उत्पादनलाई बजारसँग जोड्नु रहेको उहाँको भनाइ छ ।
सिया आर्टका सञ्चालक बालगोविन्द त्रिपाठीले कपिलवस्तुको माटोको भाँडाकुँडा कलालाई संरक्षण गर्दै आधुनिक डिजाइन, प्रविधि र बजारसँग समेट्नु आफ्नो दृष्टि रहेको बताउनु भयो । “परम्परागत सीपलाई नयाँ सोच र बजारसँग जोडेर स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु हाम्रो लक्ष्य हो,” उहाँले भन्नु भयो । यसबाट कलाकारको सम्मान, रोजगारी सिर्जना र सांस्कृतिक गर्व मजबुत हुने विश्वास उहाँले व्यक्त गर्नु भयो ।
तालिममा सहभागीहरूलाई अन्य स्थानका सफल कला तथा मूर्तिकलाका नमुना अवलोकन गराई बजारको माग अनुसार उत्पादन गर्ने सीप विकास गराइएको थियो । उत्पादित सामग्रीलाई सहज रूपमा बजारसम्म पुर्याउन सिया आर्ट र दलित सामाजिक विकास केन्द्रबिच समन्वय गरिएको परियोजनाले जनाएको छ ।