• २७ पुस २०८२, आइतबार

१२ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

blog

निर्माण सम्पन्न भएको ठाकुरबाबा नगर अस्पताल ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) पुस २७ गते । बर्दियाको ठाकुरबाबा नगरपालिकामा १२ करोडको २४ लाखको लगानीमा १५ शय्याको अस्पताल निर्माण भएको छ । ठाकुरबाबा नगरपालिका-३, नेउलापुरमा विशेषज्ञ सेवा दिन सकिने गरी नगर अस्पतालको भवन निर्माण भएको हो । 

सरकारले केही वर्ष अगाडि हरेक स्थानीय तहमा १५ शय्या सम्मको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । सोही अनुरुप २०७८ जेठदेखि निर्माण सुरु गरिएको थियो । पुस १५ सम्म निर्माण सम्पन्न गर्ने गरी चक्रेश्वरी सनलाइट निर्माण सेवा धनगढीले निर्माणको जिम्मा लिएको थियो । केही समय साइटको समस्याले अस्पताल निर्माणमा अवरोध भएको भएपनि समय मै निर्माण गर्न सफल भएको निर्माण व्यवसायी चिरञ्जीवी भट्टराईले बताउनु भयो ।  

निर्माण सम्पन्न भएको दुई तलाको भवनमा तीन वटा ब्लक रहेका छन् । बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, आकस्मिक कक्ष, शल्यक्रिया कक्षसँगै विशेषज्ञ सेवा समेत दिन सकिने गरी अस्पतालको भवन निर्माण गरिएको छ । भवनभित्र फिजियो थेरापी, एक्स रे, २४ सै घण्टाको आकस्मिक सेवा, सर्पदंश उपचार सेवा समेत दिइने गरि भवन डिजाइन गरिएको सब–इन्जिनियर प्रदीपकुमार शाहले बताउनु भयो । 

निर्माण सम्झौता अनुरूप भवन निर्माण सम्पन्न भइसकेको छ भने पार्किङ, क्यान्टिन लगाएतका थप निर्माण कार्य समेत सम्पन्न भइसकेको सब इन्जिनियर प्रदीपकुमार शाहले बताउनु भयो । उहाँले निर्माण सम्पन्न भएको कामको नापजाँच र बिलिङको काम भइरहेको बताउनु भयो ।

हाल नेउलापुर स्वास्थ्य चौकीको पुरानो भवनमा नगर अस्पतालको सेवा सुचारु भइरहेकोमा आगामी माघदेखि नयाँ भवनबाट सेवा सुचारु गर्ने योजना रहेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले बताउनु भयो । उहाँले पुरानो भवन देखि सेवा दिँदा अस्पताल र सेवा ग्राहीलाई समस्या भएको हुनाले छिट्टै नै नयाँ भवनदेखि सेवा सुचारु गर्ने योजना रहेको बताउनु भयो । 

नगर अस्पतालका लागि एमडिजिपी सहित विशेषज्ञ चिकित्सकको माग गरिएको बताउँदै अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना रहेको उहाँले बताउनु भयो । विभिन्न स्थानमा छरिएर रहेका वर्थिङ सेन्टरलाई एम्बुलेन्स सेवा निःशुल्क गरी नगर अस्पतालमा एकिकृत गर्ने योजना रहेको उहाँले बताउनु भयो । अस्पतालको पहुँचमार्गलाई सहज बनाउनका लागि पुल र सडक निर्माण गर्नुका साथै सबैलाई पायक पर्ने अस्पताल बनाउने उहाँले बताउनु भयो । 

हाल ठाकुरबाबा नगरअस्पतालमा दैनिक दुई सय जना बिरामीले सेवा लिइरहेको अस्पतालका अध्यक्ष चिरञ्जिवि योगी(भावुक)ले बताउनु भयो । पछिल्लो समयमा तीन जना मेडिकल अधिकृत सहितको २४ सै घण्टा सेवा अस्पतालले दिइरहेको बताउँदै भविष्यमा आधुनिक र सुविधा सम्पन्न भवनबाट विशेषज्ञ सेवा दिने योजना रहेको उहाँले बताउनु भयो । सम्पूर्ण निर्माणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी भइरहेको अध्यक्ष योगीले बताउनु भयो । माघको महिना मै अस्पताल भवन हस्तान्तरण भइ सेवा दिइने उहाँले बताउनु भयो ।