रमेश विश्वकर्मा
गुल्मी, पुस २७ गते । गुल्मीमा पर्यटन प्रवर्धनका लागि होटल व्यवसायीसँग सहकार्य थालिएको छ। रेसुङ्गा नगरपालिकाले होटल व्यवसायी मञ्चसँगको अन्तरक्रियामा गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको पर्यटन विकाससँगै जिल्लामा पर्यटन प्रवर्धनलाई थप प्रभावकारी बनाउन थालिएको हो। रेसुङ्गा नगरपालिकाको आयोजना तथा होटल व्यवसायी मञ्चको समन्वय तथा सहजीकरणमा पर्यटन प्रवर्धनका लागि गरिएको अन्तरक्रियामा नगरप्रमुख खिलध्वज पन्थीले पर्यटन प्रवर्द्धनका लागि योजना निमार्णका लागि सहकार्य सुरु गरिएको बताउनुभयो।
रेसुङ्गा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘जाउँ हिड रेसुङ्गा’ अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले हालै नगरपालिकामा डिजिटल लोगो राखिएको छ। उहाँले अभियानलाई सफल बनाउन प्रत्येक होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा उक्त लोगो राखी जिल्लाको पर्यटन प्रवर्धनमा सहयोग गर्न होटल व्यवसायीहरुलाई विशेष आग्रह गर्नुभयो। होटल व्यवसायी मञ्चका अध्यक्ष जंगबहादुर कुँवरले पर्यटन विकासका लागि महत्त्वपूर्ण पहल सुरु भएको बताउनुभयो। आगन्तुक पाहुनालाई जिल्लामै केही दिन अड्याएर राख्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनभयो। पर्यटकलाई सहज सेवा दिन र होटल क्षेत्रमा थप लगानी गर्नुपर्ने सुझाव दिनुभयो।
होटल व्यवसायी मञ्च गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारीले नगरपालिकाको चाहना र व्यवसायीहरुको दायित्व एउटै रहेको उल्लेख गर्दै ‘जाउँ हिड रेसुङ्गा’ अभियानको लोगोको व्यापक प्रचार–प्रसारमा सबै व्यवसायी लाग्नुपर्ने बताउनुभयो। उहाँले विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दा तथा होटलहरुमा समेत यस्ता लोगो राखेर पर्यटन प्रवर्धनमा योगदान दिनुपर्ने धारणा राख्नुभयो। होटल व्यवसायी सुर्दशन खनालले भौतिक पूर्वाधार निर्माणसँगै दक्ष जनशक्तिको अभाव ठूलो समस्या रहेको बताउनुभयो। होटल व्यवस्थापन तथा किचनसम्बन्धी तालिम आवश्यक रहेको उहाँको भनाइ छ। दक्ष जनशक्ति व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।
होटल व्यवसायी काशी पाण्डेले पर्यटन विकास अहिले गाँठो परेको अवस्थाजस्तो देखिएको बताउँदै यसलाई चलायमान बनाएर लैजानुपर्ने विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बाताउनुभयो। उहाँले ‘जाउँ हिँड रेसुङ्गा’ अभियानलाई जिल्लाका अन्य पर्यटकीय गन्तव्यसँग जोड्दै जिल्लाव्यापी अभियानको रुपमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो। साथै यहाँमा होटलहरूले पनि खानपिन, सरसफाइ र सेवाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो।