• २७ पुस २०८२, आइतबार

माटो परीक्षण गर्दा अम्लीयपन भेटियो

blog

गुणबहादुर रोका

सुलीकोट, पुस २७ गते । गोरखाको शहीद लखन गाउँपालिका खेतबारीको माटो परीक्षण गर्दा अम्लीयपन भेटिएकाे छ । 

गोरखाको शहीद लखन गाउँपालिकाले कृषकको खेतबारीमा उर्बराशक्ति जोगाउँदै उत्पादन बढाउने उद्देश्यका साथ सञ्चालन गरेको माटो परीक्षण शिविरबाट ४ वटा वडामा अम्लीयपन भेटिएको शहीद लखन गाउँपालिकाका कृषि शाखा प्रमुख नबिन अधिकारीले जानकारी दिनुभयो । 

किसानले अनियन्त्रित रुपमा रासायनिक मल प्रयोग गरिरहनुभएको छ, कृषि शाखा प्रमुख अधिकारीले भन्नुभयो, ‘माटोको अवस्था नबुझी जथाभावी रासायनिक मल प्रयोग गर्दा माटोको उर्बराशक्ति ह्रास गराउँदै लागेकाले आवश्यक उपचार तथा सिफारिस गर्न शिविर सञ्चालन गरिएको हो  ।’

गत सोमबारबाट सुरु गरिएको माटो परीक्षणमा वडा नम्बर ९, ८, ७ र ६ मा शिविर सञ्चालन गरिएकोमा वडा नम्बर ९ मा २७, वडा नम्बर ८ मा ४४, वडा नम्बर ७ मा २४ र वडा नम्बर ६ मा १०९ स्थानको माटो परीक्षण गर्दा अम्लीयपना भेटिएको गाउँपालिकाले जनाएको छ । 

परीक्षणको क्रममा माटोको अम्लीयपन, खाद्यतत्त्वको अवस्था तथा बालीको पोषण दिन सक्ने क्षमता जाँच गरिएको कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार आधिकांश माटोमा अम्लीयपन बढी देखिएको छ भने नाइट्रोजन र पोटासको मात्र मध्यम भए पनि फस्फोरस अत्यन्तै न्यून रहेको पाइएको छ ।

 अम्लीय माटो भएका क्षेत्रमा कृषि चुनाको प्रयोग गर्न सिफारिस गरिएको छ भने कुन ठाउँमा कुन बाली लगाउन उपयुक्त हुन्छ भन्ने विषयमा कृषकलाई परामर्श दिएपछि यसले बढी र राम्रो उत्पादन गर्न सहज हुने पालिकाले जनाएको छ । 

माया प्रेम संस्थाको सहयोगमा ३ सय नमुनाको परीक्षण गरिएको र गाउँपालिकाले आफ्नै बजेटबाट बाँकी वडामा पनि माटो शिविर सञ्चालन गर्ने तयारी गरेको कृषि शाखा प्रमुख अधिकारीको भनाइ छ ।

शनिबारसम्म चार वटा वडाका कुल २०४ जना किसानले शिविरबाट प्रत्यक्ष लाभ लिएका छन् भने अन्य वडामा अबको केही दिनभित्रमा माटो परीक्षण शिविर सञ्चालन गरिने पालिका कृषि शाखाले जनाएको छ ।