• २७ पुस २०८२, आइतबार

संरक्षणको पर्खाइमा किम्नी झरना

blog

लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको त्रिवेणी नगरपालिका -५ किम्नीको किम्नी झरना । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, पुस २७ गते । बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नीमा रहेको किम्नी झरना संरक्षणको पर्खाइमा छ । 

पर्यटकीय रूपले यो झरना निकै लोभलाग्दो भए पनि यसको व्यवस्थापन हुन नसक्दा यो झर्ना लामो समयसम्म संरक्षणको पर्खाइमा रहँदै आएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको रूपमा रहेको किम्नी झर्नाको कतैबाट संरक्षण हुन सकेको छैन । यो झरना यहाँका स्थानीयका लागि एक आयआर्जनको माध्यमको रूपमा रहेको भए पनि यो झरना अहिलेसम्म कतैबाट संरक्षण नहुँदा पछिल्लो समय आन्तरिक पर्यटकले खासै चासो नदेखाएको त्रिवेणी नगरपालिका –५ का स्थानीय व्यापारी बजिरे बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वीरे झरनाजस्तै किम्नी झरनालाई पनि संरक्षण गर्ने हो भने यहाँका स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”

त्रिवेणी नगरपालिकामा रहेका मौर, नाटेश्वरी, मालिकालगायतका धेरै ठाउँ पनि पर्यटकीय स्थलको रूपमा छन् । त्योमध्येकै यो किम्नी झरना पनि एक पर्यटकीय स्थलको रूपमा छ ।

नाटेश्वरी, मालिका र मौरेका केही पर्यटक स्थल संरक्षण भए पनि किम्नी भरना भने कतैबाट संरक्षण हुन नसकेको बुढाले बताउनुभयो । 

झरनाको संरक्षण तथा व्यवस्थापनका लागि धेरै ठाउँमा पहल गर्दा पनि अहिलेसम्म कतैबाट संरक्षण नभएको त्रिवेणी नगरपालिका –५ का वडा अध्यक्ष डिल्ली बुढाले बताउनुभयो ।