वसन्त पराजुली
नारायणगढ, पुस २७ गते । प्रगतिशील लेखक सङ्घ चितवनको आयोजनामा मोरङकी स्रष्टा मधु गुरुङको नवीनतम उपन्यास जीवनको गीतमाथि विमर्श कार्यक्रम सम्पन्न भयो ।
नारायणी नमुना मा वि भरतपुर चितवनको सभाहलमा भएको सो कार्यक्रममा बोल्दै आख्यानकार तथा समीक्षक सरिता तिवारीले कृतिमाथि समीक्षा गर्दै पितृसत्तात्मक हाम्रो समाजलाई जीवनको गीत उपन्यासले प्रहार गरेको बताउनुभयो ।
“हाम्रो समाज पितृसत्तात्मक समाज हो । यहाँ महिलालाई दबाउनैपर्छ भन्ने मान्यता छ जुन उपन्यासमा सशक्त रुपमा उठाइएको छ । उपन्यासको बलियो पक्ष भनेकै यही हो ।”उहाँले भन्नुभयो ।
यस्तै आख्यानकार आकाश पौडेलले जीवनको गीत उपन्यासमा प्रस्तुत गरिएका पुरुष पात्रहरूको प्रस्तुति कमजोर भएको टिप्पणी गर्नुभयो ।
प्रगतिशील लेखक सङ्घ चितवनका अध्यक्ष उषा तिवारी (विष्णुदेवी तिवारी उषाको)को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रप्रसाद रेग्मी हुनुहुन्थ्यो ।