टोपलाल अर्याल
रेसुङ्गा, (गुल्मी), पुस २७ गते ।गत वर्षदेखि विस्थापित मुसिकोट नगरपालिका–१ थाम बिसौनाका पहिरो पीडित १५ घर परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् ।
बिसौना गाउँनै पहिरोको उच्च जोखिममा रहेका कारण स्थानीय विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा बसोबास गराउने उद्देश्यले मुसिकोट नगरपालिकाले मुसिकोट नगरपालिका–१ कै थाममा बस्ती स्थानान्तरणको काम अगाडि बढाएको छ ।
पहिरोका कारण बिसौनामा २०६४ र ०८१ सालमा गरेर १० जनाले ज्यान गुमाएका थिए । अहिले मुसिकोट नगरपालिका र लाभग्राहीको ५०÷५० लागत साझेदारीमा थामडाँडा नजिक नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ ।
मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल ‘जीवन’ ले बस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढेको बताउनुभयो । अबको सक्रियता आवास र जीविकोपार्जनको भएकाले सबै काममा आफूहरू लागिपरेको खरेलले बताउनुभयो ।
आवास निर्माणका लागि सरकारका माथिल्ला निकायसँग समन्वय गर्ने र असम्भव भएका नजिकको सरकार भएकाले नगर आफैँले काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले डेढ वर्षमा भर्खर सुरक्षित ठाउँमा जग्गा पाएले निराश नभएर आफ्न तर्फबाट सकेको काम गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो ।
कित्ताको जग्गा अनुसार एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्म लाभग्राहीले बुझाएका छन् । लाभग्राही र नगरपालिकाले गरेर ३५ लाखमा जग्गा खरिद गरिएको स्थानीय तथा मुसिकोट नगरपालिकाको कार्यपालिका सदस्य प्रतिमा केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार गाउँ छोडेका १५ घर परिवारको लागि नगरले गत वर्षदेखि भाडामा घर खोजेर राखिरहेको थियो । पहिरो पीडित फूलमती विकलाई चाँडै घर चाहिएको छ । पाँच जनाको परिवार गाउँ छोडेर अरुको बस्न थालेकाे डेढ वर्ष भयाे ।
बसाइ एकातिर बारी अर्कातिर हुँदा समस्या धेरै छन् । ऋण खोजेर जग्गाको लागि पैसा बुझाए पनि घर कसले बनाउने भन्ने टुङ्गो नभएको विकले गुनासो गर्नुभयो ।
भिरालो र कच्ची जमिन भएका कारण पटकपटक स्थानान्तरण गर्नुपर्ने बाध्यता थियो । २०÷२२ घर नै बविस्थापित हुने अवस्था भए पनि अहिले १५ घरलाई जग्गा व्यवस्थापन गरिएको मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कसैले ५० प्रतिशत रकम जम्मा गर्न नसक्ने अवस्था र केही बाहिर भएकाले सबैलाई प्रक्रियामा समावेश गर्न नसकिएको बताउनुभयो । जिल्लाका अधिकांश दलित बस्ती बिकुना र अप्ठ्यारोमा भएका कारण पहिरोकाे ठूलो जोखिम छ ।