सर्लाही समाचारदाता
सर्लाही, पुस २७ गते । एक साताअघि हत्या भएको ईश्वरपुर नगरपालिका–२, राइटरखोर निवासी वनरक्षक रामईश्वर महतो कोइरीको परिवारलाई शनिबार आर्थिक सहयोग गरिएको छ ।
वन पैदावार विकास समितिमातहत रहेको सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वृक्षरोपण आयोजना झापामा कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनको तलबबापतको एक लाख ४४ हजार ९३२ रुपियाँ मृतक वनरक्षक महतोको परिवारलाई प्रदान गरेका हुन् । परियोजनाकै पहलमा विभिन्न मनकारी व्यक्तिले मृतकको परिवारका लागि थप चार लाख रुपियाँ बैङ्कमा जम्मा गरिदिएका सागरनाथ वन विकास परियोजनाका निमित्त परियोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिनुभयो ।
विश्वकर्माका अनुसार मृतक वनरक्षक रामईश्वरको काजकिरियाका लागि वन पैदावार समितिबाट २५ हजार र सामाजिक सुरक्षा कोषबाट थप २५ हजार उपलब्ध गराइएको छ । ५२ वर्षीय वनरक्षक महतो साइकल चढेर वनगस्तीमा निस्किएका बेला पुस १९ गते घरनजिकै सागरनाथ विकास विकास परियोजना भक्तिपुरको प्लट नं. १० मा टाउको नै छिनाएर बीभत्स ढङ्गले हत्या भएको थियो ।
उहाँको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका–२, राइटरखोरकै ३५ वर्षीय रामबलि महतोलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा रामबलिले तस्करी गरेर ल्याएको काठ बरामद गरेपछि वनरक्षक रामईश्वरको हत्या गरेको देखिएको छ ।
वनको संरक्षण गर्न र तस्करी रोक्न क्रियाशील वनरक्षक रामईश्वरको तस्करबाट हत्या भएपछि सागरनाथ वन विकास परियोजनाले अब वनगस्ती गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै आफ्ना वनरक्षक तथा कर्मचारी खटाउने निमित्त परियोजना प्रमुख विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार मृतक महतोलाई वन संरक्षक सहिद घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ ।