जनकपुरधाम समाचारदाता
जनकपुरधाम, पुस २७ गते । धनुषासहित तराई मधेशका जिल्लामा यतिबेला बिहानैदेखि मूर्तिकारको आँगन र गल्लीमा माटो मुछ्ने, ढाल्ने र आकार दिने चहलपहल देखिन्छ । हातमा चिसो माटो, मनमा सरस्वती पूजाको आशा बोकेर मूर्तिकार परम्परागत सिपमा जुटिरहेका छन् । पुस्तौँदेखि चल्दै आएको यही पेसाबाट उनीहरूको गुजारा चल्दै आएको छ तर यसपालि तराई मधेशमा अत्यधिक चिसो र शीतलहरले मूर्ति सुकाउन कठिन भएको मूर्तिकारको भनाइ छ ।
सामान्यतय दुई/चार दिनमै सुक्ने मूर्ति हप्ता दिनसम्म पनि नसुक्दा काम ढिलो भइरहेको छ । चिसो मौसमले माटो अझ चिसो बनाउँदा हातले काम गर्न झनै गाह्रो भएको गुनासो मूर्तिकारले गर्दै आएका छन् ।
मधेशमा वर्षभरि सरस्वती पूजा, लक्ष्मीपूजा, दुर्गापूजा, गणेश चतुर्थी, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजालगायतका पर्वमा भगवान्का प्रतिमा बनाउने चहलपहल बढ्ने गर्छ तर यसपालि पुसको सुरुवाती दिनदेखि नै राम्ररी घाम नलाग्दा र चिसो अत्यधिक बढ्दा मूर्ति बनाउन असहज भएको मूर्तिकार बताउँछन् ।
सरस्वती पूजाको चहलपहल नजिकिँदै जाँदा समयसँगै दौडिनुपर्ने बाध्यता र मौसमको मारले मूर्तिकारको दैनिकी झन् सङ्घर्षपूर्ण बनेको धनुषाका मूर्तिकार पन्चा पण्डित बताउनुहुन्छ । उहाँका अनुसार यसपालि अत्यधिक चिसोका कारण माटो र पानीसँग काम गर्न निकै कठिन भइरहेको छ ।
उहाँ भन्नुहुन्छ, “जाडो धेरै बढेकाले हातखुट्टा सुन्निने, औँलाले राम्ररी काम गर्न नसक्ने जस्ता समस्या छन् । त्यसमाथि बनाएको मूर्ति समयमा सुक्दैन । घाम नलाग्दा मेसिनको सहारा लिनु पर्छ, जसले खर्च पनि बढाउँछ र मेहनत पनि दोब्बर लाग्छ ।” पुसको पहिलो साताभन्दा बढी समयदेखि मधेशमा राम्ररी घाम लागेको छैन । घाम नलाग्दा माटो सुक्दैन, मूर्ति चिसिन्छ, रङ बस्दैन ।
धनुषाका मूर्तिकार उत्तमलाल पण्डित माटो सम्याउँदै भन्नुहुन्छ, “बाउबाजेको पालादेखि यही काम गर्दै आएका हौँ । पहिले घाम राम्रो लाग्थ्यो, चार/पाँच दिनमै मूर्ति तयार हुन्थ्यो । अहिले पाँच/सात दिन लाग्छ ।” उहाँको कार्यशालामा अहिले करिब ३० वटा प्रतिमा तयार छन् तर उहाँको अनुहारमा सन्तोषभन्दा बढी चिन्ता देखिन्छ । उहाँ भन्नुहुन्छ, “यदि घाम लागेको भए, यो सङ्ख्या दोब्बर हुन सक्थ्यो ।”
यस्तै नगराइन नगरपालिका–३ का मोतीलाल पण्डितका लागि पनि यो मौसम परीक्षा बनेको छ । चिसो माटोले हात सुनिन्छ, काम गर्दा शरीर काँप्छ । उहाँ भन्नुहुन्छ, “अनुकूल मौसममा पाँच दिनमा एउटा मूर्ति बनाइन्थ्यो । अहिले सातदेखि १० दिन लाग्छ । समय पनि बढी, मेहनत पनि बढी, खर्च पनि बढी ।” उहाँले तयार पारेका मूर्तिमध्ये केही ६४ हजार रुपियाँसम्मका छन् तर बिक्रीभन्दा पहिले नै मौसमसँगको लडाइँ चलिरहेको छ ।
अर्का मूर्तिकार शिवजी पण्डित भन्नुहुन्छ, “चिसोमा चिसो काम गर्नु पर्छ, हात दुख्छ, ढाड दुख्छ, कहिलेकाहीँ ज्वरो पनि आउँछ । स्वास्थ्य बिग्रिएला कि भन्ने डर लाग्छ तर काम नगरी बस्ने विकल्प पनि छैन ।” सरस्वती पूजाको समय नजिकिँदै गर्दा विद्यालय, कलेज र टोल टोलमा पूजा गर्ने तयारी भइरहेको छ तर यहाँ मूर्तिकार माटो नसुकेको प्रतिमातर्फ हेर्दै आकाशतिर आँखा उठाउँछन्, घाम कहिले लाग्ला ?