• २७ पुस २०८२, आइतबार

कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण

blog

जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिदै । तस्बिर: नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), पुस २७ गते । जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरेको हो । 

परीक्षण गरिएका मध्ये उच्चरक्तचाप आठ, मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श २५  र मधुमेह समस्या १२ जनामा पुष्टि भएको छ । 

कारागार भित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो ।जनस्वास्थ्य कार्यालय जुम्लाको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोलीले कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेका हुन् । 

 टोलीले कैदीबन्दीको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचानमा विशेष ध्यान दिएको थियो ।

विशेषगरी कारागारमा लामो समय बस्नुपर्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन, अनिद्रा लगायतका मानसिक स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यक परामर्श प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार, मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीहरूलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायबारे समेत जानकारी गराइएको छ ।

परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सिफारिस गरिएको छ ।

 शर्माका अनुसार, कारागार भित्र रहेका नागरिकहरूले अरु जतिकै मानव अधिकार भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने बताउनुभयो ।

 स्वास्थ्य जाँच कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, उपचारमा सहजता र मानसिक सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । 

कार्यक्रमबाट कैदीबन्दीहरूले स्वास्थ्य सेवामा पहुँच पाएको भन्दै सन्तुष्टि व्यक्त गरेका छन् ।