चौमाला समाचारदाता
चौमाला (कैलाली), पुस २७ गते । एनएमबी बैङ्क कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ ।
बैङ्क कर्मचारीले जग्गा कारोबारीसितको मिलेमतोमा झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर नेकपा (माओवादी) ले कब्जामा लिएको छ । सो घरमा पार्टीको झन्डा र कार्यालय राखेर आफ्नो कब्जामा लिएको जानकारी दिएको छ । नेकपा (माओवादी) कञ्चनपुर जिल्लाका न्याय विभाग प्रमुख रमन सीले विक परिवारलाई जानकारी नदिएर बैङ्कले लिलाम गरेको भन्दै घर कब्जामा लिएको बताउनुभयो । उहाँले पिडित विक परिवारलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै न्यायोचित ढङ्गले छानबिन नभएसम्म घर कब्जामा रहने बताउनुभयो ।
नेकपा (माओवादी) का केन्द्रीय सदस्य ललितजङ्ग सिंहले अजय विकको घरजग्गा दलालसँग मिलेमतो गरी बैङ्कले लिलाम गरी परिवारलाई बिचल्लीमा पारेका कारण घर कब्जामा लिएको बताउनुभयो । अहिले सो घर पूर्ण रूपमा पार्टीको कब्जामा रहेकाले कसैले प्रयोग गर्न नपाउने उहाँको भनाइ छ । एनएमबी बैङ्कले विकले २०७५ सालमा लिएको ऋणको साँवाब्याज तिर्न आनाकानी गरेको भन्दै दुई वर्षअघि २०८० चैतमा विकले बैङ्कमा राखेको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो । एनएमबी बैङ्कले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै प्रहरी जाहेरीसमेत परेको छ । लिलाम घर किन्ने धीरेन्द्र साउद, उहाँकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफारिस दिने वडा नम्बर १० का वडासचिव जुनाकुमारी सेराविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ । एनएमबी बैङ्क कञ्चनपुरको झलारी शाखाबाट १५ वर्षको कर्जा भुक्तानी अवधि राखी विकले होम लोन शिर्षकमा २९ लाख ५० हजार रुपियाँ ऋण लिएका थिए ।
बैङ्कले लिलामका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी नगरिदिन भनेर तीन लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैङ्कमा जाँदा पनि पैसा नबुझेको उहाँको आरोप छ । एनएमबी बैङ्क झलारी शाखाका प्रमुख दीपक कार्कीले प्रक्रियागत रूपमा घर लिलाम गरेको बताउनुभयो ।
एनएमबी बैङ्क कञ्चनपुरको झलारीबजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दीसमेत गरेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले तालाबन्दी खुलाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।