सुर्खेत समाचारदाता
सुर्खेत, पुस २७ गते । सुर्खेतका विभिन्न धर्मगुरु सामाजिक अपराधको रूपमा रहेका जातीय विभेद, छुवाछुत र लैङ्गिक हिंसाविरुद्ध सामूहिक रूपमा अग्रसर हुन सहमत भएका छन् ।
दलित महिला सङ्घ सुर्खेतले आयोजना गरेको कार्यक्रममा धर्मगुरुले कुनै पनि धर्ममा विभेद, छुवाछुत गर्नु भनेर नभनेको हुँदा संस्कारका नाममा गरिएकाले त्यो संस्कारलाई परिवर्तन गराउन आआफ्ना ठाउँमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । मुस्लिम धर्मगुरु मौलाना बसिर चतुर्वेदीले मुस्लिम धर्ममा विभिन्न जात भए पनि जातकै आधारमा छुवाछुत र विभेद नभएको दाबी गर्नुभयो । उहाँले मुस्लिम धर्ममा जुनसुकै जात भए पनि मूल जात मुस्लिम मानिने हुँदा सबै एकै ठाउँमा बसेर खाने, काम गर्ने गरेको जानकारी दिनुभयो । आफूहरूको धर्मग्रन्थमा छुवाछुत, विभेद नलेखिएको बताउँदै उहाँले कहीं विकृति छ भने त्यस्तालाई हटाउनुपर्ने सुझाव दिनुभयो । सबै जातजातिलाई धर्मबारे बराबर शिक्षा दिएको भए आज यस्तो विभेद नहुने उहाँको भनाइ छ । इसाई धर्मगुरु पास्टर प्रेमबहादुर नेपालीले पनि यस धर्ममा सबै मानवका रूपमा जन्मिएको हुँदा कुनै भेदभाव र विभेद नभएको जिकिर गर्नुभयो । विश्व हिन्दु परिषद् सुर्खेतका अध्यक्ष परमानन्द रेग्मीले चेतना र अशिक्षाको कमीले छुवाछुत र विभेद हुने गरेको पाइएको बताउनुभयो । समाज सञ्चालनका क्रममा कामका आधारमा जात विभाजन गरिएको र पछि त्यसैबाट विभेद जन्मिएको हुँदा त्यस्तो कुसंस्कारलाई हटाउनुपर्ने सुझाव उहाँले दिनुभयो । सुर्खेतका देउतीबज्यै मन्दिरका पुजारी जनकबहादुर राजीले विगतको तुलनामा अहिले छुवाछुत र विभेदमा कमी आएको बताउनुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले छुवाछुत र विभेद हटाउनका लागि धर्मगुरुको भूमिका ठुलो हुने भएकाले धर्मगुरुले समानताको जागरण सुरु गर्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका उपसचिव मानबहादुर कार्कीले जातीय विभेद र छुवाछुत सामाजिक अपराध भएकाले कानुनी रूपमा दण्डनीय भएको कुरा धर्मगुरुहरूले आआफ्ना धर्मावम्लम्बीलाई सचेत गराउनुपर्ने बताउनुभयो ।