• २७ पुस २०८२, आइतबार

उपरदाङगढीमा बन्यो युद्ध सङ्ग्रहालय

blog

नारायणगढ समाचारदाता 

नारायणगढ (चितवन), पुस २७ गते । अङ्ग्रेजलाई नेपाल प्रवेशमा रोक लगाएको गढीका रूपमा चिनिएको ऐतिहासिक उपरदाङगढीमा कोतघरसँगै सङ्ग्रहालय निर्माण गरिएको छ । इच्छाकामना गाउँपालिकाले निर्माण गरेको कोतघरमा नेपाली सेनाले सङ्ग्रहालय निर्माणका लागि ऐतिहासिक हातहतियार सहयोग गरेपछि कोतघरसँगै सङ्ग्रहालय निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

इच्छाकामना गाउँपालिकाको व्यवस्थापनमा सञ्चालनमा आएको कोतघरसहितको सङ्ग्रहालयको नेपाली सेनाका मध्यक्षेत्र पृतना हेड क्वाटर हेटौँडाका पृतनापति उपरथी विष्णुकुमार खड्काले उद्घाटन गर्नुभयो । इच्छाकमना गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले एक करोड ८३ लाख रुपियाँको लगानीमा कोतघर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले कोतघरमा सेनाले ऐतिहासिक तोपसहितको हातहतियार उपलब्ध गराएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “खण्डहर बन्दै गएको ऐतिहासिक थलो उपरदाङगढीको अहिले संरक्षण गर्न पहल भएको छ । हामीले कोतघर बनायौँ, त्यसमा सेनाले हातहतियार दिएर सहयोग ग¥यो ।” गढीमा तोपसहितको ऐतिहासिक हातहतियार सङ्ग्रहालयमा देख्न पाइने भएपछि पर्यटकको आवागमन वृद्धि हुने प्रमुख गुरुङको विश्वास छ । “इतिहास अध्ययन गर्न चाहनेका लागि उपरदाङगढी आफैँमा महत्वपूर्ण छ,” उहाँले थप्नुभयो, “गढी वरपरको प्राकृतिक सुन्दरता र सीमान्तकृत समुदायमा रहेको चेपाङ जातिको संस्कृति पनि यहाँको थप आकर्षण हो ।”

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले गढीको जीर्णोद्धार गर्दै कोतघर बनाउँदा मौलिकपन दिएकाले पर्यटकका लागि आकर्षण केन्द्र बन्ने बताउनुभयो । उहाँले यस्ता सम्पदाको संरक्षणमा विभाग लागिरहेको जानकारी दिनुभयो । ऐतिहासिक सम्पदाको संरक्षणले देशको इतिहासको संरक्षण गर्दै नयाँ पुस्तालाई यसबारे जानकारी दिन सहयोग पुग्ने उहाँको विश्वास छ । पुरातìव विभागले अहिले यस्ता सम्पदाको संरक्षण र प्रवर्धनमा विशेष भूमिका खेलेको उहाँले जनाउनुभयो । 

नेपाली सेनाको नयाँ सबुजगढ भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाले सेनाले गढीको ऐतिहासिक गरिमा जोगाउन र पर्यटन प्रर्वधनका लागि टेवा पु¥याउन सङ्ग्रहालय निर्माणमा ऐतिहासिक हातहतियार उपलब्ध गराएको जानकारी दिनुभयो । “सङ्ग्रहालयका लागि हामीले छ पाउन्डको तोप एक थान, किटको गोला ५० वटा, भरुवा बन्दुक दुई नाल, छालाको ढाल एक थान, तरबार दुई थान, खुकुरी छ वटा र खुँडा एक थान उपलब्ध गराएका छौँ,” प्रमुख सेनानी लामाले भन्नुभयो । 

उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । सेन वंशीय राजा मणिमुकुन्द सेनले निर्माण गरेको गढी शाह वंशीय राजतन्त्रका बेला बहादुर शाहको नायबीमा यसको थप मर्मतसम्भार गरिएको थियो । नेपाल एकीकरणका बेला बहादुर शाहका छोरा शत्रुभञ्जन शाह यहाँ आएर सेनाको टुकडी राखेको इतिहासमा उल्लेख छ । जानकारका अनुसार यही क्षेत्रबाट अङ्ग्रेजका सेनालाई नेपाली सेनाले हराएर लखेट्न सफल भएको थियो ।