रामकृष्ण बोहरा
बागलुङ, पुस २७ गते । बागलुङ नगरपालिकाको १८ औं नगरसभाले दुई विधेयक पास गरेको छ ।
नगरसभाले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पास गरेको हो ।
लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुन घिमिरेका अनुसार, पछिल्लो समय बागलुङ नगरपालिकाले प्राकृतिक श्रोत साधनबाट फाइदा लिन सकेको छैन ।
त्यस्तै कालीगण्डकी नदी दोहन रोक्ने र वैधानिक रुपमा नदीजन्य सामाग्री उत्खनन गर्ने काममा समेत अगाडि बढ्न सकेको छैन ।यो विधेयकले वातावरण संरक्षण र नदीजन्य सामाग्रीको सदुपयोग गर्न पनि सहज वातावरण आउने संयोजक घिमिरेले विश्वास गर्नुभयो ।
नगरसभाले योजनाको नाम संशोधन गरी गुणस्तरीय र छिटो काम सम्पन्न गर्न पहल गर्ने निष्कर्ष निकालेको छ ।नगरप्रमुख बसन्तकुमार श्रेष्ठ नेतृत्वको जनप्रतिनिधि आएपछि भएका सकारात्मक कामलाई नागरिकसमक्ष लैजाने गरी नगरप्रमुखले राखेको प्रस्तावमा छलफल गरी पास गरिएको छ ।
हिउँदे अधिवेशन तथा नगरसभालाई कानून बनाउने अधिवेशनको रुपमा लिने गरिन्छ ।नगरसभाले नीतिगत विषयमा बढी छलफल केन्द्रीत गरेको थियो ।
गत असारमा भएको १७ औं नगरसभाले ल्याएको बजेटको संशोधन र समीक्षा गर्नुको साथै नीतिको समीक्षा र ४ वर्षे कार्यकालमा भएका कामको लिपिबद्ध गर्ने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।
नगरपालिकाले बागलुङ बसपार्क निर्माणपछि सञ्चालनमा आएको, विश्व बैङ्कको सहयोगमा तीनवटा सडक कालोपत्र गरिएको, फोहोर व्यवस्थापनमा काम गरेको छ भने सिगानामा लिफ्टबाट पानी वितरण गरिएको, धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको पञ्चकोट, मालिका, भैरवस्थान मन्दिरमा पूर्वाधार बनाउन पहल गर्दै आएको छ ।
नगरसभामा नगरप्रमुख श्रेष्ठले पेश गर्नुभएको संशोधित नीति, उपप्रमुख राजु खड्काले पेश गरेको संशोधित आर्थिक नीति पास गरिएको छ ।
छलफलमा भाग लिएका सदस्यहरूले काम धेरै भएपनि प्रभावकारी नदेखिएको, जनप्रतिनिधिले नै दादागिरी गर्ने गरेको र जनताको चाहना अनुसारका काममा कम ध्यान दिएको आरोप लगाउनुभएको थियो ।
बन्दसत्रमा उहाँहरूले आफ्ना मागलाई लिएर आरोपप्रत्यारोप समेत गर्नुभएको थियो ।