• २७ पुस २०८२, आइतबार

मौलिक भाषा विकासमा राष्ट्रनिर्माताको योगदान

blog

समय र कालखण्डले युगपुरुष जन्माउँछ । नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था अध्ययन गर्दा वीर वीरङ्गनाको जन्म यसरी नै भएको देखिन्छ । तत्कालीन गोरखा राज्यका संस्थापक द्रव्य शाहले राज्य विस्तारको अभियान चलाएका थिए । उनको शेषपछि राम शाहले पनि राज्य विस्तार त गरे तर उनी विशेष गरी कानुन र न्याय स्थापना गर्नतिर लागे । ‘‘न्याय न पाए गोरखा जानु विद्या न पाए काशी (बनारस) जानु” भन्ने प्रसिद्ध कथन राम शाहको पालामा चलेको हो । 

तत्कालीन गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीबाट विसं १७७९ साल पुस २७ गते जन्मेका पृथ्वीनारायण शाह सानैदेखि लडाकु स्वाभावका किन बने ? पुर्खाको अर्ती सुनेर या त्यसबेलाका राजाहरूको राज्य विस्तारको रणनीति देखेर । यो बेग्लै अध्ययनको विषय हो । यसका बारे इतिहासकारले व्याख्या गर्लान् । एउटा बहादुर राजाले त्यसबेलाका विशाल देश उत्तरको चीन र दक्षिणको भारतबिचको भूपेरिवेष्टित नेपाललाई कसरी जोगाएर राखे । टुक्रा टुक्रामा छरिएको नेपालको भूभागलाई एउटै सूत्रमा कसरी आबद्ध गरे ? त्यो चेत अथवा अर्ती कहाँबाट प्राप्त भयो भन्ने विषय मुख्य हो ।

पिताको निधनपछि पृथ्वीनारायण गोरखा राज्यका राजा मात्र नभएर कुशल प्रशासक, दूरद्रष्टा, सफल कूटनीतिज्ञ राष्ट्रभक्त र गुरु गोरखनाथका अनन्य भक्त थिए भन्ने ज्ञान उनको जीवनी पढ्दा थाहा हुन्छ । उनको जीवन सफल पार्न कतै बुढीआमाको अर्तीले काम दिएको देखिन्छ भने लुगा सिलाउने बिखे नकर्चीको परिश्रमको प्रभाव । यसै गरी राज्य विस्तारको क्रममा कालु पाण्डे जस्ता इमानदार सैनिकको योगदान र बनारसका गुरुहरूको पनि आशीर्वाद प्राप्त भएका कारण उनी हरेक काममा सफल भएका देखिन्छन् । दही गोडामा पोखिनुको अर्थ, थालमा पस्केको तातो भात कसरी खाने भन्ने बुढी आमाको अर्ती पृथ्वीनारायणको जीवनपर्यन्तसम्म कायम रह्यो । अन्याय सहनु हुँदैन, गल्ती पनि गर्नु हुँदैन भन्ने दृष्टान्त उनको ससुराली गृहको मनोमालिन्यबाट देखाए । राज्यको एकीकरण गरेपछिमात्र स्वदेशी उद्योग धन्दा, कलकारखाना स्थापनामा लाग्नु पर्छ । अर्काको देशको लत्ताकपडा प्रयोग गरिनु हुन्न भन्ने मान्यता उनमा प्रवल थियो । 

विसं १७९९ मा एकीकरणको थालनी उनले नुवाकोटबाट गरे । हारबाट हरेश नखाने उनले विसं १८०१ मा नुवाकोट विजय गरे । काठमाडौँ उपत्यकालाई भ्यागुतोको संज्ञा दिने उनले गोरखा सर्प हो, लमजुङ गरुड हो, गरुडको आँखा छलेर मात्र सर्पले भ्यागुतो निल्न सक्छ भन्ने अकाट्य तर्क दिए । हुन पनि लमजुङका राजासँग मित्रता गाँसेर उनले प्रथम पटक कीर्तिपुर आक्रमण गरे । बल्खु खोलाबाट कीर्तिपुर प्रवेश गर्न खोज्दा उनका सात सय सैनिकले सहादत प्राप्त गरे भन्ने इतिहासकारको भनाइ छ । जसमा सेनापति कालु पाण्डेको निधन भयो । यो घटनाबाट उनी निकै दुःखित भए । पुनः आक्रमण गर्न छाडेनन् । उनले त्यस पटक कसैले थाहा न पाउने गरी गुरिल्ला युद्ध गरे । कैयौँ कीर्तिपुरवासीको बीभत्स हत्या गरे, नाक, कानसम्म काटी दिए भन्नुहुन्थ्यो इतिहासविद् ज्ञानमणि नेपाल । अन्त्यमा काठमाडाैँ उपत्यकाका तीन राज्य काठमाडौँ, ललितपुर र भक्तपुरमाथि आक्रमण गरे । इन्द्रजात्राको दिनमा काठमाडौँका नेवार जातिको भोजपर्व मनाइरहेका बखत हनुमानढोका दरबारलाई तीनतिरबाट घेरा हाली आक्रमण गरी विसं १८२५ मा विजयी बने । यसै गरी विसं १८२६ मा भक्तपुरमा आक्रमण गरी विजयीको पताका फहराए । 

पृथ्वीनारायणको जीवन राष्ट्रको एकीकरणमा नै बित्यो । सङ्घर्षै सङ्घर्षमा जीवन बिताएका उनका पछिल्ला सन्ततिले जस्तै मोजमस्तीको जीवन बिताउन पाएनन् । आदर्शका नमुना राजा बनेका कारण र निजी स्वार्थमा न डुबेका कारण उनी जन्मेको २५२ वर्षपछि पनि नेपाली नागरिकले सम्मानका साथ उनको स्मरण गरिरहेछन् । इतिहासले बताउँछ पृथ्वीनारायण आफ्ना भाइ र परिवारलाई भन्दा सैनिकलाई अधिक माया गर्थे । दरबारका सुसारेका प्यारा भएका कारण राज्य विस्तारका क्रममा साइतमा हिँड्ने बेला उनीहरूले शुभ चिह्न देखाउँथे रे । पृथ्वीनारायण त्यसबेलाको नेपालको राज्य व्यवस्था र सामाजिक परिवेशका बारे गहिरो अध्ययन गरेका ज्ञानमणि नेपाल आफैँमा जिउँदो इतिहास थिए । त्यसबेलाका राजा बस्ने ठाउँलाई कोट भनिन्थ्यो । शत्रु पक्षबाट हमला हुन न पाओस् भन्नाका लागि त्यसबेला यस्ता कोट निर्माण गरेका थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा वर्तमानमा पनि त्यसबेलाका राजाको कोट देख्न पाइन्छ । बझाङ जिल्लाको बान्नीकोट, सुनिकोट, तलकोट, मोत्वा, डडेलधुराको अजयमेरुकोट, अछाम जिल्लाको घुङ्घुरकोट, मङ्गलसेन, डोटीको डुम्राकोट, बाजुरा जिल्लाको बार्जुकोट, जाजरकोटको खलङ्गा, रुकुमको मुसीकोट यसका केही उदाहरण हुन् । 

पृथ्वीनारायण सांस्कृतिक परिवेशलाई बचाइराख्ने, सङ्गीतमा रुचि राख्ने, कलाप्रेमी राजा थिए । दोलखा, काभ्रेपलान्चोक, मकवानपुरलगायतका जिल्लाको मौलिक संस्कृति बचाइराख्न त्यसबेलाका भारदारलाई अराएका थिए । ‘‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो । यो देश साना दुःखले आज्र्याको होइन सबैलाई चेतना भया ।” उनको दिव्यवाणी । राज्य विस्तारसँगै भाषा र संस्कृतिको समेत उनले प्रचार गरेको देखिन्छ । विदेशीमा उनको पटक्कै विश्वास थिएन । शत्रुपक्षलाई पृथ्वीनारायणले कहिल्यै दया गरेनन् । उनले बोल्ने भाषा अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा बोल्ने गरिन्छ । भाषामा मात्र होइन ती प्रदेशका मानिसले पर्वका बखत पृथ्वीनारायणले शिरदेखि पाउसम्म एकसरोे सेतो लुगा लगाउने गर्छन् । विशेष गरी बडादसैँका बखत बझाङको तलकोट कोटको मेलामा राजाले उक्त लुगा लगाएर नवदुर्गाको पूजा गर्ने प्रचलन विद्यमान कायमै छ । 

अहिले देशमा लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था विद्यमान छ । राष्ट्रभक्त राजाका अर्ती उपदेश वर्तमान कालमा पनि त्यत्तिकै प्ररणादायी हुन सक्छन् । नेपाल दुई ढुङ्गाबिचको तरुल हो, जाइकटन नगर्नु, झिकी कटन गर्नु, प्रजा बलिया भया दरबार बलियो हुन्या छ । देशका (भारत र चीन) महाजन हाम्रा मुलुकमा आयो भन्या दुनिया कङ्काल पाडी छाड्छन् । देशका (भारत चीनका) कपडा लगाउनलाई मनाही गरिदिनु, आफ्नो देशका कपडा बुन्नु । जान्यालाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु आदि जस्ता उपदेश मनन गरी लागु गरेमा आफ्नै देशको प्राकृतिक स्रोतसाधनको सदुपयोग हुन्थ्यो । आय आर्जन बढ्ने थियो युवा विदेश पलायन हुनबाट रोकिन्थे । 

तीन जना महापुरुषलाई कहिल्यै भुल्न सकिँदैन । जसका कारण दुइटा विशाल देशबिच स्वतन्त्र मुलुकका रूपमा हामी बाँचेका छौँ । राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण, एकतन्त्रीय राणा शासनको अन्त्य गरी जनतामा मौलिक अधिकार लागु गर्ने जनजनायक बिपी कोइराला र नेपाली भाषालाई जनजनको बस्तीमा लागु गर्ने आदिकवि भानुभक्त आचार्य यो देशका वास्तविक विभूति हुन् । फरक फरक समयमा यी महान व्यक्तिको नेपाल जस्तो अल्पविकसित र भूपरिवेष्टित मुलुकमा जन्म भयो । चिरकालसम्म नेपाली मनले यी त्रिमूर्तिलाई सम्झिरहने छन् ।

राज्य विस्तारका लागि दूरद्रष्टा पृथ्वीनारायणले भक्तपुरका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी लगाए । तराईका राज्यलाई आफ्नो कब्जामा पार्न मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग मागी विवाह गरे । त्यसबेलाका बाइसे चौबिसे राज्यलाई एकीकरण गर्न सेनाको लडाइँको प्रयोग गरे । कुनै बेला आपसी मित्रता र बाल्यकालमा आफूले पढेका रामायण महाभारतमा उल्लेखित कूटनीतिक पाठको पनि प्रयोग गरेको देखिन्छ । राज्य एकीकरण गरेपछि केही वर्ष आराम गर्दै गरेका पृथ्वीनारायणको ५२ वर्षको उमेरमा निधन भयो ।