गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । नेपाली साङ्गीतिक क्षेत्रका युवा ढुकढुकी गायक उजं शाक्य शनिबार सम्मानित हुनुभएको छ ।
श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहार इतुंबाहाः संरक्षण समाजले २० औँ साधारण सभाको अवसरमा गीतसङ्गीतका माध्यमबाट देशभरि नेपाल भाषालाई थप उचाइमा पु¥याएर अतुलनीय योगदान दिएको भन्दै उजंलाई सम्मान गरिएको हो । सो अवसरमा मूर्तिकार ज्ञानबहादुर शाक्य पनि सम्मानित हुनुभयो । इतुंबाहाः संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले दुवैलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभयो ।
गायक उजंले आफ्नो ठाउँमा पाएको सम्मानले अपार खुसी मिलेको बताउनुभयो । उहाँ इतुंबहाः कै कूलपुत्र हुनुहुन्छ । मैँचा, बेबी, कुमारीलगायतका गीत उजंका लोकप्रिय गीत हुन् । यसै गरी मूर्तिकार शाक्यले आर्थिक रूपमा सबल बन्नेभन्दा पुण्य प्राप्त गर्ने सोचाइसहित बुद्धमूर्ति निर्माणमा लागेको बताउनुभयो । उहाँले इतुबहाः मा रहेको ध्यानकुथीमा स्थापना गर्न बुद्ध, धर्म र सङ्घका तीन मूर्ति निर्माण गर्नुभएको छ । मूर्तिकार शाक्यका अनुसार ती तीन बुद्धमध्ये प्रज्ञापारमिता (सङ्घ) को मूर्ति ‘मास्टरपिस’ हो ।
सो अवसरमा समाजका अध्यक्ष शाक्यले पछिल्लो वर्ष इतुंबहाः मा भएका उपलब्धिमूलक कार्य उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “श्री केशचन्द्र महाविहारको करिब ५५० वर्ष पुरानो तीन थान चित्रकला (पौभाः) ४५ वर्षपछि अमेरिकाबाट पुनः आफ्नै स्थानमा फिर्ता आएको छ । महायान, वज्रयानका बौद्ध देवीदेवताबाट कक्षा सञ्चालन भएको छ । इतुंबहा म्युजियममा स्वदेशी र विदेशी मात्र होइन स्कुले विद्यार्थी पनि आउँदा अवलोकनकर्ताको वृद्धि भएको छ ।”
नेवार बौद्ध धर्मावलम्बीसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरूको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलाप नियमित रूपमा सञ्चालन हुने यस महाविहारमा पहिलो विहार सङ्ग्रहालयका रूपमा इतुंबहाः म्युजियमको स्थापना गरेको छ । इतुंबाहाः म्युजियममा चार ग्यालरीमा एक सयभन्दा बढी ऐतिहासिक सामग्री प्रदर्शनमा राखिएको छ । सो कार्यक्रममा समाजका कोषाध्यक्ष रूपकुमार शाक्यले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।