गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बर्सेनि बढ्दै गए पनि कोरोना महामारीअघिको अवस्थामा भने अझै पुग्न सकेको छैन । पछिल्लो पाँच वर्षको तथ्याङ्कले पर्यटन पूर्वाधारको विकास, पर्यटकीय गन्तव्यको प्रचारप्रसार, अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपाल प्रवर्धन र पर्यटन विकासका दीर्घकालीन नीति तय नहुँदा कोरोना महामारीपछि अपेक्षित पर्यटक नेपाल भित्रिन नसकेको देखाएको छ ।
कारोना महामारी, हवाई दुर्घटना, अविरल वर्षा, बाढीपहिरो, सवारी दुर्घटना, विमानस्थल विस्तार र राजनीतिक अस्थिरता कारण यस वर्ष पनि पर्यटक आगमनले महामारीअघिको तथ्याङ्क भेट्न नसकेको सरोकारवालाको ठम्याइ छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भन्नुभयो, “सन् २०२५ मा १२ लाखभन्दा बढी पर्यटक आउने अवस्था रहे पनि जेनजी प्रदर्शन, उडान कटौती र वर्षायाममा सडक सञ्जाल अवरुद्ध हुँदा पर्यटक आगमनमा धक्का पुगेको देखिन्छ ।” हवाई उडानको सीमितताका कारण पनि अपेक्षा अनुसार विदेशी पर्यटन भित्रिन नसकेको उहाँको भनाइ छ । स्रोत बजारमा निरन्तर प्रवर्धनात्मक कार्यक्रम जारी रहेकाले यस वर्षलाई पर्यटक आगमनमा पूर्ण सुधार ल्याउने उहाँको अपेक्षा छ ।
नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पाहुना भित्रिएका थिए । त्यस्तै गरी सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल भ्र्रमण गरेका छन् । यो सङ्ख्या सन् २०२४ को भन्दा एक प्रतिशतले मात्रै बढी हो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक आएका थिए । कोरोना महामारीको त्रासका कारण २०२० को मार्चदेखि नै नेपालमा मात्र नभई विश्वव्यापी पर्यटन क्षेत्र प्रभावित बनेको थियो । त्यही प्रभावका कारण सन् २०२० मा पर्यटक आगमन खस्केर दुई लाख ३० हजारमा सीमित भएको थियो । त्यस्तै सन् २०२१ मा एक लाख ५० हजार ९६२, सन् २०२२ मा छ लाख १४ हजार ८६९, सन् २०२३ मा १० लाख १४ हजार ८८२ र सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डको तथ्याङ्क अनुसार छिमेकी मुलुकबाटै आउने पर्यटकको सङ्ख्यामा समेत सुधार आएको छैन । सन् २०२४ मा तीन लाख १७ हजार ७८१ भारतीय पर्यटक नेपाल आएकोमा सन् २०२५ मा यो सङ्ख्या दुई लाख ९२ हजार ४३८ मा झरेको बोर्डको तथ्याङ्कले देखाएको छ । सन् २०२५ मा चीनबाट आउनेको पर्यटकको सङ्ख्या पनि सन् २०२४ को तुलनामा ६.३ प्रतिशतले घटेको छ । सन् २०२५ मा चीनबाट ९५ हजार ४८० पर्यटक आएका छन् भने सन् २०२४ मा भने एक लाख एक हजार ८७४ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । चीनबाट सन् २०१९ मा एक लाख ६९ हजार ५४३ चिनियाँ नेपाल आएका थिए ।