• २६ पुस २०८२, शनिबार

कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा

blog

शुक्रबार सम्पन्न उन्नाइसौँ नगरसभामा नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुस २५ गते । कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ । शुक्रबार उन्नाइसौँ नगरसभा सम्पन्न भएसँगै नगरप्रमुख पूर्णप्रसाद आचार्यले चालु आर्थिक वर्षको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो । 

नगरसभामा प्रस्तुत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित भएको छ । यस्तै नगरसभाबाट घरनक्सा पास अभिलेखीकरण असार मसान्तसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि आर्थिक वर्ष २०८२ साउनदेखि घरनक्सा पास अभिलेखीकरण बन्द भएको थियो । यस्तै नगरसभाले कोहलपुर नगरापालिकाको कर्मचारी सङ्गठन संरचना संशोधनसहित पारित गरेको छ । 

उन्नाइसौँ नगरसभामा नगर उपप्रमुख सङ्गीता सुवेदीद्वारा प्रस्तुत प्रगति समीक्षा र संशोधित बजेट पनि पारित भएको प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सदस्यसचिव मानबहादुर गिरीले जानकारी दिनुभयो । 

हालसम्म विनियोजित बजेटमध्ये २८ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजित कुल बजेट १ अर्ब १७ करोड ४५ लाख ५ हजारमध्ये ३३ करोड ५० लाख एक हजार ८४ रुपियाँ १४ पैसा खर्च भइ कुल बजेटको २८.४९ प्रतिशत बजेट खर्च भएको हो । जसमा चालुतर्फ ३५.११ प्रतिशत र पुँजीगततर्फ १७.६१ प्रतिशत खर्च भएको छ भने विषयगततर्फ विनियोजित बजेटमा आर्थिक विकासतर्फ १४.२ प्रतिशत, सामाजिक विकासमा ३२.५१ प्रतिशत, पूर्वाधार विकासतर्फ ६.८९ प्रतिशत, सुशासन क्षेत्रमा १५.०१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४७.५८ प्रतिशत खर्च भएको नगर उपप्रमुख सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।  

यस्तै चालु आर्थिक वर्षमा राजस्वतर्फ प्रक्षेपण गरिएको रकम १३ करोड ३८ लाख २१ हजार १ सय ९३ रुपियाँ रहेकोमा हालसम्म ४ करोड ४९ लाख ८२ हजार ५ सय ६२ रुपियाँ ९६ पैसा सङ्कलन भएको छ । जसअनुसार हालसम्म ३३.६१ प्रतिशत राजस्व सङ्कलन भएको छ । 

चालु आर्थिक वर्षको हालसम्म उपभोक्ता समितिबाट सम्झौता भइ कार्यान्वयन भइरहेका ४८ वटा योजना रहेका छन् भने शिलबन्दी दरभाउ पत्रअन्तर्गत ५ वटा र राष्ट्रिय बोलपत्रमार्फत २८ वटा योजना विद्युतीय ठेक्का प्रणालीमार्फत खुलेकोमा १४ वटाको सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको पनि उहाँले बताउनुभयो ।