“विभागबाट अत्यावश्यक राहदानीका लागि आवेदन दिनेले पनि अब तीन दिन कुर्नु पर्दैन, आजको भोलि नै राहदानी पाउने छन्, त्यही अनुसार दिन पनि थालेका छौँ ।”
काठमाडौँ, पुस २५ गते । राहदानीको चरम अभाव पूर्ति गर्दै राहदानी विभागले डेढ महिनामा झन्डै चार लाख राहदानी छपाइ गरेर वितरण गरेको छ । तत्कालको मागको समाधान भए पनि फागुनदेखि नयाँ कम्पनीले नयाँ राहदानी दिन असम्भव हुँदा फेरि समस्या आउने सम्भावना भने उत्तिकै छ । विद्युतीय राहदानीको सङ्क्रमणकालीन व्यवस्थापन अन्तर्गत भएको सम्झौता अन्तर्गत हालसम्म तीन लाख ९६ हजार राहदानी छपाइ भइसकेको छ । गत मङ्सिर ५ गते पहिले सम्झौता भएकै फ्रान्सको आइडिमिया कम्पनीसँग सात लाख राहदानी छपाइ गर्ने सम्झौता भएको थियो ।
राहदानीको चरम अभाव पूर्ति गर्ने क्रममा करिब डेढ महिनाको अन्तरालमा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ भएर वितरण भएको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै करिब एक लाख थान एक/दुई दिनभित्रै छपाइ भएर आउने क्रममा रहेको छ ।” त्यसपछि अब दुई लाख ७३ हजार ८१४ थान राहदानी छपाइ मौज्दात रहने छ । बुधबारसम्म दुई लाख ६४ हजार ४८१ थान राहदानी सम्बन्धित जिल्ला तथा एकाइमा पठाइसकिएको छ । पुस १५ गतेसम्म आवेदन दिएकाकोसमेत गरेर शुक्रबारसम्ममा अर्को एक लाख थान बढी विद्युतीय राहदानी पठाउने तयारीमा विभाग छ । अर्यालका अनुसार यससँगै हालसम्म आवेदन दिएका सबैको हातमा राहदानी पुग्ने छ । विभागले राहदानी सहज ढङ्गले वितरण थालेको दाबी गर्दै महानिर्देशक अर्यालले भन्नुभयो, “विभागबाट अत्यावश्यक राहदानीका लागि आवेदन दिनेहरूले पनि अब तीन दिन कुर्नु पर्दैन, आजको भोलि नै राहदानी पाउने छन्, त्यही अनुसार दिन पनि थालेका छौँ ।” उहाँले भन्नुभए जस्तै राहदानी वितरण सहज भएपछि विभाग र ७७ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालयमा माग गर्नेको घुइँचो हटेको छ । सहज आपूर्तिसँगै आवेदकले पनि राहतको सास फेरेका छन् ।
फागुनबाटै नयाँ राहदानी छपाइ अनिश्चित
आउँदो फागुनदेखि नयाँ कम्पनीले विद्युतीय राहदानी छपाइ प्रक्रिया सुरु गर्ने गरी सम्झौता भइसकेको छ तर मेसिन तथा प्रविधि व्यवस्थापनका लागि दुईदेखि तीन महिना लाग्ने भएकाले फागुनमै राहदानी छपाइ हुन नसक्दा फेरि राहदानीको अभाव हुने आशङ्का कायमै छ । त्यसो हुँदा नयाँ राहदानी छपाइ चैतको अन्तिम वा वैशाख महिनाबाट हुने सम्भावना रहेको छ ।
नयाँ कम्पनीले आफ्नै मेसिन र प्रविधिले पुरानोलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । सबै नयाँ ढङ्गले जडान गर्दा समस्या नआएमा छिटो पनि हुन सक्छ । समस्या देखिएमा थप समय लाग्ने उहाँले बताउनुभयो । अबको दुई महिनाका लागि हालको सम्झौता अनुसार कायम मौज्दातले पुग्ने अनुमान अर्याल गर्नुहुन्छ ।
अब दैनिक छपाइ तथा वितरण हुने भनेको पाँचदेखि छ हजार थान राहदानी हो । त्यस अनुसार आगामी माघ र फागुनसम्मका लागि करिब तीन लाख ६० हजार राहदानी आवश्यक पर्छ । त्यो हिसाबले अहिले देखिएको मौज्दात दुई लाख ७३ हजारले पुगनपुग हुन्छ । आउँदो चैत महिनामा पनि नयाँ राहदानी छपाइ हुन सकेन र माग अहिलेकै अनुसार बढ्दो रह्यो भने फेरि अर्को अन्तरिम बाटो खोज्नुपर्ने हुन सक्छ । अबका दिनमा हालको जस्तो चरम माग नरहने अनुमान विभागको छ । यदि भएको खण्डमा विभागले त्यसका लागि विकल्प सोचेको दाबी अर्याल गर्नुहुन्छ ।
विभागले प्याकेज १ र २ गरेर दुई वटा जर्मन कम्पनीसँग नयाँ राहदानी छपाइको सम्झौता गरेको छ । जस अनुसार प्याकेज १ अन्तर्गत मिउलवाउर आइडी सर्भिस गिम्भ कम्पनीले राहदानी पूर्वदर्ता, दर्ता, तथ्याङ्क व्यवस्थापनसहितको राहदानी प्रणाली प्याकेजमा काम गर्ने छ । प्याकेज २ अन्तर्गत भेरिडोस गिम्भ कम्पनीले राहदानीको वैयक्तिक गुणस्तर नियन्त्रण तथा प्याकिङसहितको राहदानी पुस्तिका छपाइ गर्ने छ । उनीहरूको आफ्नै प्रविधि नेपालमा स्थापना गरेर काम गर्दा र नमुना छपाइ गर्दाको प्रक्रिया जटिल रहेकाले पनि थप समस्या आउने सम्भावना उस्तै देखिएको हो ।