• ११ असोज २०८१, शुक्रबार

आमाको नामबाट नागरिकता लिन अदालत जानै पर्ने !

blog

अदालत गएर आमाको नामबाट वंशजका आधारमा नागरिकता लिँदै एकै परिवारका चार भाइ। तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी 

धनकुटा, असार २८ गते। बाबुको नामबाट नागरिता लिन जिल्ला प्रशासन कार्यालय जाँदा हुन्छ भने आमाको नामबाट नागरिकता लिन अदालत जानै पर्ने बाध्यता रहेको छ।

सानैमा बाबुले छोडेपछि आमा तारा तामाङ्गसँग धनकुटा नगरपालिका वडा नम्वर ७ मा बसोबास गर्दै आएका चारजना छोरा नरेश तामाङ्ग, ओम तामाङ्ग र गणेश तामाङ्गले न्याय माग्दै अदालतसम्म धाएर वंशजका आधारमा आमा तारा तामाङ्गको नामबाट नागरिकता पाएका छन्।

यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाउनु भएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ। उहाँहरुलाई जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ, प्रशासकीय अधिकृतले नागरिकता प्रदान गर्नुभएको हो।

नागरिकता नपाएपछि उच्च अदालत विराटनगर धनकुटा इजलासमा दायर गरेको रिटमा अदालतले उहाँहरुलाई आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय धनकुटामा नागरिकता बनाउन जाँदा प्रशासनबाट नागरिकता नपाएपछि तामाङ्गले प्रशासनलाई विपक्षी बनाएर उच्च अदालत विराटनगर धनकुटा इजलासमा गत २०७८ चैत १४ गते र गौरीले १६ गते रिट दायर गर्नुभएको थियो। 

अदालतले दुवै रिटको २०७८ असार २१ गते जिल्ला प्रशासन कार्यालय धनकुटाका नाममा परमादेश जारी गर्दै आमाको नामबाट नागरिकता दिन आदेश गरे बमोजिम नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो। 

कुनै पनि व्यक्ति जन्म हुँदाको बखत निजको बावु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था नेपालको संविधान २०७२ धारा ११ उपधारा २ (ख) मा उल्लेख छ। तर, पनि धनकुटा प्रशासनले उहाँहरुलाई नागरिकता दिन इन्कार गरेको थियो।