• २३ पुस २०८२, बुधबार

भिमादमा ‘किसानसँग नगर प्रमुख’ अभियानः घरदैलोमै पुगेर समाधान खोजिने

blog

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी छलफलका क्रममा । तस्बिर : गोरखापत्र

अमरराज नहर्की 
तनहुँ, पुस २२ गते ।
तनहुँको भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण र किसानका समस्या समाधानका लागि ‘किसानसँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरवासीलाई व्यावसायिक उत्पादनसँग जोडी आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाले यो नवीन अभियान सुरु गर्न लागेको हो ।

स्थानीयको जीवनयापन र आयआर्जनको मुख्य आधार कृषि रहेकाले यसको उत्पादकत्व वृद्धि गर्न विशेष योजना अघि सारिएको नगर प्रमुख दधिराज सुवेदीले बताउनुभयो । नगर प्रमुख सुवेदीका अनुसार यस कार्यक्रमअन्तर्गत जनप्रतिनिधि र प्राविधिकको टोली प्रत्यक्ष रूपमा किसानको खेतबारीमा पुगेर उनीहरूका पिरमर्का सुन्ने र समस्याको पहिचान गरी तत्काल समाधान खोज्नेछ । “भौगोलिक अवस्थाका आधारमा भिमादको समृद्धि कृषि र पशुपालनमै छ,’’ उहाँले भन्नुभयो, “कृषकको जीविकोपार्जनमा सुधार ल्याउन र नगरलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुनेछ ।’’

आगामी माघ पहिलो सातादेखि नगरका सबै वडामा यो अभियान सञ्चालन हुने गरी कार्यतालिका तय गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनका अनुसार सोमबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि र प्राविधिक कर्मचारीलाई किसानको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने जिम्मेवारी सुम्पिएको छ । अभियानका क्रममा किसानले राखेका सुझाव र आवश्यकतालाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ समावेश गरिने लक्ष्य राखिएको छ ।

यस कार्यक्रममार्फत कृषि र पशु विकास शाखाबाट प्रवाह हुने सेवाबारे जानकारी गराउनुका साथै स्थलगत रूपमै प्राविधिक परामर्श समेत दिइनेछ । सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउन नगरपालिकाले ‘कृषि एप’ समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । टोलीले भ्रमणकै क्रममा साना सिँचाइ योजनामा देखिएका प्राविधिक समस्यालाई तत्कालै समाधान गर्ने गरी तयारी गरेको छ ।

भिमाद नगरपालिकाले चालु आर्थिक वर्षमा कृषि औजार र बीउबिजनमा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ। त्यस्तै, दुग्ध उत्पादक कृषकलाई प्रोत्साहनस्वरूप प्रतिलिटर १० रुपियाँ नगद अनुदान र पशु आहारका लागि साइलेजको व्यवस्था गरिएको सूचना अधिकारी टेकावती ढकालले जानकारी दिनुभयो ।