कास्की समाचारदाता
कास्की, पुस २२ गते । पोखरा थिएटरको आयोजनामा तयार पारिएको नाटक ‘मखी ताल’ आइतबारदेखि पोखरा महानगरका विभिन्न वडामा मञ्चन गरिएको छ । वातावरण संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ जीवनशैलीबारे जनचेतना जगाउन पोखरा महानगरका ३३ वटै वडामा नाटक मञ्चन गरिने छ । नाटक पहिलो दिन पोखरा महानगरपालिका वडा नं. ३०, ३१ र ३२ मा मञ्चन गरिएको छ ।
कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना (जिसिआरयु) परियोजना’ अन्तर्गत नाटक तयार भएको हो । यो नाटक हास्यव्यङ्ग्य तथा व्यावहारिक सन्देशमार्फत स्थानीय समुदायलाई छिटो जोड्ने शैलीमा तयार गरिएको थिएटरका संस्थापक अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । नाटकको प्रस्तुति पोखरा थिएटरको रहेको छ । लेखन तथा निर्देशन परिवर्तनको हो । नाटकमा निर्देशक परिवर्तनसहित रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, उत्सर्ग सुवेदी, रञ्जु दाहाल, सुसन पौडेल, उमा पुन, श्रद्धा आचार्य, श्रीकृष्ण भण्डारीको अभिनय रहेको छ ।
प्रप्स तथा कस्टुम परिकल्पना, निर्माण विकास अधिकारीले गर्नुभएको छ भने नाटक मञ्चनलाई प्रभावकारी बनाउन कार्यक्रम संयोजकको जिम्मेवारी प्रकाश रेग्मी हमाललाई दिइएको छ । ४० मिनेटको उक्त नाटकबाट दर्शकले मनोरञ्जन मात्र नभएर ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना (जिसिआरयु) परियोजना’ बारे बुझ्ने अपेक्षा गरिएको छ । देशकै ठुलो महानगर पोखराका लागि फोहोर व्यवस्थापन र वातावरण संरक्षण सन्देश नाटकले दिने विश्वास गरिएको छ ।