लक्ष्मी चौधरी
जनकपुरधाम, पुस २१ गते ।मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशमा शान्ति र सद्भाव कायम राख्न मधेशवासीसँग अपिल गर्नुभएको छ ।
पछिल्ला दिनहरूमा मधेशका केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि र असमझदारीप्रति चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख कर्णले सोमबार सामाजिक सद्भाव र भाइचारा कायम राख्न मधेशवासीसँग अपिल गर्नुभएको हो ।
प्रदेश प्रमुख कर्णले मधेश विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर सङ्गम भएको भूमि भएको उल्लेख गर्दै परापूर्वकालदेखि नै यहाँका बासिन्दाले ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता संस्कार आत्मसात् गर्दै आएको बताउनुभयो ।
हाल मधेशमा देखिएका केही गतिविधिले सदियौँदेखि कायम सामाजिक एकता र सहिष्णुतामा आँच पुर्याउन सक्ने भन्दै उहाँले सबैलाई सचेत रहन आग्रह समेत गर्नुभएको हो ।
“विचार र आस्था फरक हुन सक्छन्, तर हाम्रो मानवीय पहिचान र सामाजिक एकता एउटै हो,” प्रदेश प्रमुख कर्णले अपिलमा उल्लेख गर्नुभएको छ ।
उहाँले कुनै पनि प्रकारको उत्तेजना वा आवेगमा नआई धैर्य धारण गर्न र समाजलाई विभाजन गर्ने तत्वहरूबाट टाढा रहन सबैलाई अनुरोध गर्दै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको भावना आहत हुने खालका गतिविधि नगर्न, शान्ति र सद्भाव कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश प्रमुख कर्णले संवाद र सहकार्य नै हरेक समस्याको समाधान भएको उल्लेख गर्दै मधेश केवल विविधताको भूमि मात्र नभई अटुट एकता र प्रेमको पनि भूमि भएको पुनः प्रमाणित गर्न आग्रह गर्नुभयो ।