प्रेमराज सिम्खडा
कालीकोट, पुस २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) कालीकोटमा आकाङ्क्षीको भिड लागेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा एमालेबाट १२ जनाले दाबी पेस गरेका छन् ।
काठमाडौँमा एमाले कालीकोटको बैठक बसेर उम्मेदवार छनोटको छलफल चलाउँदा १२ जना आकाङ्क्षी देखिएपछि सिफारिस गर्न सकस भएको छ । एमाले कालीकोटका अध्यक्ष तुलाराज मल्लले उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले सिफारिस गर्न समस्या भएको बताउनु भयो ।
दाबेदारहरूमा केन्द्रीय सदस्य नगिन्द्र शाही, मिनबहादुर शाही, इन्दिरा सज्याल, नेता कासिचन्द वराल, रमेश शाही, तपेन्द्र शाही, वकिलबहादुर बम, धिरबहादुर बम, टेकबहादुर बाेगटी, कुर्मराज शाही, भरतराज धिताल, राजेन्द्र थापाले दाबी गरेकाले मिलाउन समस्या भएको अध्यक्ष मल्लले बताउनु भयो ।
सुरुमा १२ जनाको नाम आएको र विस्तारै अलि कम भएजस्तो देखिए पनि अझै सिफारिस गर्न समस्या भएको मल्लको भनाइ छ । अब एक चरण बसेर फेरि छलफल गर्ने र नभएमा पार्टी केन्द्रको निर्णय अनुसार तीन जनाको नाम क्लस्टर मिलाएर पठाउने योजनामा रहेको अध्यक्ष मल्ले बताउनु भयो ।