• २३ पुस २०८२, बुधबार

शिक्षकहरूको क्षमता विकासका लागि कार्यशाला

blog

कार्यक्रममा सहभागी विज्ञान शिक्षकहरू ।

ज्ञानु पङ्गेनी

मध्यविन्दु, पुस २१ गते । ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम अन्तर्गत कावासोती नगरपालिकाले विज्ञान शिक्षक क्षमता विकास कार्यशालाको आयोजना गरेको छ । 

चार दिनसम्म चल्ने कार्यशालाको सोमबार नगर प्रमुख विष्णुप्रसाद भुसालले उदघाटन गर्नु भयो । कार्यक्रममा सामुदायिक, संस्थागत र विज्ञान विषय पढाई हुने तीन वटा क्याम्पससहित नगरका ४० जना विज्ञान शिक्षकको सहभागिता रहेको छ । 

देशलाई आत्मनिर्भरता बनाउन कार्यक्रमले टेवा पुग्ने, विश्वाससाथ कावासोतीबाट यो कार्यक्रम सुरु गरेको नगर शिक्षा अधिकृत राजन पाण्डेले जानकारी दिनु भयो । विद्यार्थीलाई सानै उमेरदेखि प्रविधिको विकास र उत्पादनसँग जोडेर भविष्यमा आफ्नै देशमा केही गर्न सक्ने गरी तयार पार्न कार्यक्रमले सहयोग गर्ने उहाँको भनाइ छ । 

नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले विज्ञान शिक्षकको ज्ञान, सीप र शिक्षण विधिमा सुधारगरी कक्षा कोठामा प्रभावकारी तथा व्यवहारिक सिकाइ सुनिश्चित गरेर विद्यार्थीलाई खोज अनुसन्धान तथा उत्पादनमुखी बनाउनु यस कार्यक्रमको उद्देश्य रहेकोमा जोड दिनु भयो । 

विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई प्रयोग, अनुसन्धान, आविष्कार र साना उत्पादनतर्फ उन्मुख गराउन शिक्षकलाई सक्षम बनाउने र शिक्षकमार्फत विद्यार्थी सक्षम बन्ने उहाँको भनाइ छ । 

तालिममा पाठ्यक्रम तथा मूल्याङ्कनविज्ञ मीना श्रेष्ठले सहजीकरण गर्नु भएको छ । उहाँले विद्यार्थीले विद्यालयमा सिकेको कुरालाई घरमा गएर व्यवहारमा उतार्न सक्ने गरी सिकाइ प्रदान गर्न कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । 

दुई दिनसम्मको कार्यतालिकामा आफूले क्रियाकलापमार्फत सिकाइ प्रदान गर्दै विद्यार्थीलाई साना कुराबाट समेत शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरा प्रदान गरेर जाने बताउनु भयो । 

तेश्रो र चौथो दिनमा विज्ञान विषय सहजकर्ता तथा पाठ्यक्रम तथा मूल्याङ्कनविज्ञ केशर कुलालले सहजीकरण गर्नु हुने स्राेत शिक्षक तीर्थ कंडेलले जानकारी दिनु भयो ।