अर्जुन कार्की
काठेखोला (बागलुङ), पुस २० गते । बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि होटल समिट धौलागिरी र गलकोट नगरपालिका भिड्ने भएका छन् ।
आईतबार भएको सेमिफाइनल खेलमा होटल समिटले मेरो डेन्टल होमलाई र गलकोट नगरपालिकाले कुश्मा नगरपालिकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा होटल समिटले मेरो डेन्टल होमलाई ३–१ को सेटमा पराजित गर्यो ।
प्रतिस्पर्धात्मक पहिलो सेट ३३–३१ ले आफ्नो पक्षमा पारेको होटल समिटले दोस्रो सेट र २५–२१ ले जित्यो । तेस्रो सेटमा मेरो डेन्टल होमले १६–२५ ले जित निकाल्दै खेलमा फर्किने संकेत गर्यो ।
चौथो सेटमा २५–२२ ले जित्दै होटल समिट उपाधि नजिक पुगेको छ । होटल समिटमा गलकोट नगरपालिकाका खेलाडी र मेरो डेन्टल होममा निसीखोला गाउँपालिकाका खेलाडी सम्मिलित थिए ।
यस्तै आईतबार नै भएको दोस्रो सेमिफाइनल खेलमा गलकोट नगरपालिकाले कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेटको सुरुवातमा पछाडी परेको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै २५–२२ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट २५–२० ले जितेको गलकोटले तेस्रो सेट १९–२५ ले गुमायो । चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै गलकोट उपाधि नजिक पुग्यो ।
सोमबार उपाधिको लागि र सेमिफाइनलमा पराजित टिम विच तेस्रो र चौथो स्थानको लागि खेल हुने आठौँ बागलुङ महोत्सव २०८२ का पुरुष भलिबल प्रतियोगिता संयोजक अकिलबहादुर क्षेत्री ध्रुबले जानकारी दिनुभयो ।
महोत्सवको मुख्य आकर्षण रहेको पुरुष भलिबल प्रतियोगितामा विभिन्न १४ समुहले भाग लिएकोमा जैमिनी नगरपालिका र मालिका युथ क्लब अन्तिम समयमा खेल मैदानमा उपस्थीत भएनन् ।
गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सम्बन्धित पालिका र जिल्ला बाहिर गण्डकी प्रदेशका २ जना खेलाडी टिममा समावेश गर्न पाईने नियम राखिएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी एउटै पालिकाको हुनुपर्ने र दुई जना मात्रै सम्बन्धित पालिका रहेको भन्दा बाहिरी जिल्ला गण्डकी प्रदेश भित्रको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितमा होटल समिटले गलकोट नगरपालिकाका खेलाडीका साथै गण्डकी प्रदेशका कप्तान तथा पूर्वराष्ट्रिय खेलाडी सन्जुविक्रम शाह र गण्डकी प्रदेशका सेटर विवस आले मगरलाई समावेश गरेको छभने गलकोट नगरपालिकाको गण्डकी प्रदेशका खेलाडी विश्वास अधिकारीलाई टिममा समावेश गरेको छ ।
प्रतियोगितामा उपाधि विजेता टिमले ट्रफीसहित नगद २ लाख १ हजार ५ सय, द्वितीय हुनेले ट्रफीसहित नगद १ लाख २१ हजार ५ सय, तृतीयले ट्रफीसहित ४४ हजार ५ सय र सान्त्वना हुने टिमले ट्रफीसहित २२ हजार ५ सय रुपियाँ प्राप्त गर्नेछन् ।