पढ्दा ज्ञान पाइन्छ
धर्म के हो, पाप के हो
जानिन्छ, बुझिन्छ
उज्यालो के हो, अँध्यारो के हो
सभ्यता के हो, असभ्यता के हो
जानिन्छ, बुझिन्छ...
‘किरात खाहुन मुन्धुम’ मा इतिहासविद् इमानसिंह चेम्जोङले यिनै सन्देश उल्लेख गर्नुभएको छ । किराँत लिम्बू भाषा, किराँत सिरिजङ्गा लिपि, साहित्य, किराँत संस्कृति र किराँत इतिहासलगायत अनेक पक्षबाट चेम्जोङको योगदानलाई सम्झिने गरिन्छ । चेम्जोङले समग्रमा किराँत एकताका निम्ति गर्नुभएको अभिलेखीकरण कार्य, किराँतसम्बन्धी अवधारणालाई महत्वपूर्ण रूपमा लिइन्छ ।
चेम्जोङको पुख्र्यौली थलो पाँचथर आङ्सराङको वसाङ्गुगाउँ हो । बाजे पुस्ता गाउँबाट सुखको मानो खोज्दै मुगलान छिरे । बाबुआमाले भारतको कालिम्पोङको रिङ्केबुङमा बसोबास थाले । बाबु मेघवरसिंह चेम्जोङ र आमा दावपुहाङ्माबाट सन् १९०४ जनवरी १ (पुस १७) मा इमानसिंह चेम्जोङको जन्म रिङ्केबुङमा भएको थियो । उहाँले १९२६ मा म्याट्रिक पास गर्नुभयो । कोलकातास्थित सेन्ट जेभियर कलेजबाट आइए र बिए पास गर्नुभयो । हाइस्कुल पढ्दाताका ‘किराँतीहरू जङ्गली हुन्छन्’ भन्ने घोचाइबाट चेम्जोङलाई किराँत भाषा, लिपि, साहित्य, संस्कृति, इतिहासको खोजी गर्न प्रेरित गरेको विद्वान्हरूको भनाइ छ । अन्ततः जिन्दगीको ६० वर्ष किराँत भाषा, साहित्य, संस्कृति र इतिहासका लागि समर्पित भएर प्रातःस्मरणीय सांस्कृतिक योद्धाका रूपमा इमानसिंह चेम्जोङ परिचित हुनुहुन्छ ।
दीर्घजीवी कर्म र कृतिहरू नै चेम्जोङलाई सम्झिरहने आधार हुन् । किराँत याक्थुङ चुम्लुङले यो पटक चेम्जोङको १२३ औँ जन्मजयन्तीका अवसरमा चेम्जोङकृत ‘किराती दन्त्य कथाहरू’ को अङ्ग्रेजी अनुवाद ‘किराती फक स्टोरिज’ सार्वजनिक गरेको छ । इतिहासविद् चेम्जोङकी नातिनी मोहेन्दु चेम्जोङ कार्कीले उक्त कृतिको अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो । यसै गरी अन्य केही कृति अङ्ग्रेजीमा अनुवाद गरिएका छन् ।
मुन्धुमविद् येहाङ लाओतीका अनुसार चेम्जोङको हालसम्म १७ वटा कृति प्रकाशित छन् । अप्रकाशित कृतिहरू दर्जनभन्दा बढी हुन सक्ने उहाँ उल्लेख गर्नुहुन्छ । चेम्जोङका प्रकाशित कृतिहरूमा ‘तुम याक्थुङ निङवाफु साप्ला’ (१९३१) संयुक्त, ‘किरात इतिहास’ (१९४८), ‘तुम याक्थुङ निङवाफु साप्ला’ (१९५१) संयुक्त, ‘तुम याक्थुङ निसिगेक साप्ला’ (१९५१), ‘किरात साहित्यको इतिहास’ (१९५६), ‘किरात मुन्धुम’ (१९६१), ‘लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ (१९६१), ‘किरात दन्त्य कथा’ (१९६४), ‘किरात मुन्धुम खाहुन’ (१९६४), ‘हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल’ (१९६७) छन् । यसै गरी ‘याक्थुङ चुक्मुक साम्जिक मुन्धुम’ (१९६९), ‘लाप्चा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ (१९६९), ‘तुम याक्थुङ निङवाफु साप्ला’ (पहिलो पाठ्यपुस्तक, १९७०), ‘तुम याक्थुङ हुप्पान साप्ला’ (किराँत व्याकरण, १९७०), ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (१९७५), ‘वाम्मा लोक्सिङ’ कवितासङ्ग्रह (१९८०) र ‘बलिहाङ तङनाम’ (बलिहाङ तङनाम भट्याइने मुन्धुम, १९८५) छ । चेम्जोङका कृतिमध्ये नौ वटा पुस्तक किराँत याक्थुङ चुम्लुङले पुनः प्रकाशन गरेको छ ।
चेम्जोङका फेला परेका अप्रकाशित कृतिहरूमा ‘बान्तवा राई शब्दकोश’, ‘श्रीजंगाको जीवन चरित्र’ (नेपाली भाषामा नाटक), ‘हाङसुदेवा लाङ्जाम्’ (लिम्बू भाषामा नाटक), ‘इमानसिंह चेम्जोङको जीवन चरित्र’ (चेम्जोङ स्वयम्ले लेखेका लिम्बू भाषामा), ‘लिम्बू भाषाका कविताहरू’ ‘तुम् याक्थुङ निङ्वाफु साब्ला’, ‘याक्थुङ निसि गेक साब्ला’, ‘सिरिजङ्गा मुन्धुम’ भाग–१ र ‘सिरिजङ्गा मुन्धुम’ भाग–२ रहेको मुन्धुमविद् लाओतीले जानकारी दिनुभएको छ । सन् १९५१ मा सिक्किममा ‘तुम् याक्थुङ निङ्वाफु साब्ला’ कक्षा १ र कक्षा २ ‘याक्थुङ निसि गेक साब्ला’ लिथोमा छापिएर पठनपाठन भएको तर पुस्तकाकारमा छापिएका छैनन् । विभिन्न व्यक्तिले उपलब्ध गराइएका चेम्जोङका हस्तलिखित पाण्डुलिपिहरू कीर्तिपुरस्थित त्रिवि केन्द्रीय पुस्तकालयको अभिलेख शाखामा सुरक्षित रहेको पुस्तकालय अधिकृत विजय शर्माले जानकारी दिनुभएको छ ।
इतिहासविद् चेम्जोङले निर्माण गर्नुभएको ‘बान्तावा राई शब्दकोश’ बारे बान्तावा भाषाका कोशकार तथा भाषाशास्त्री प्राध्यापक नोबलकिशोर राई अनभिज्ञता जनाउनुहुन्छ । अहिले आफू ८१ वर्षको रहेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “म जन्मिँदा ४२ वर्षका चेम्जोङले बान्तावा राई शब्दकोश लेख्नुभएको छ भन्ने थाहै भएन । यो मेरो लागि नौलो विषय हो ।” उक्त पाण्डुलिपि रजिस्टरको बाहिरी गातामा देवनागरी लिपिमा ‘बान्तावा राई शब्दकोष, नेपाल अध्ययन संस्थान, कीर्तिपुर, काठमान्डौ नेपाल, सम्बत् २०२९ साल, ईमानसिंह चेम्जोङ’ उल्लेख छ । त्यसभित्र के कति शब्द छन् भन्ने अहिलेसम्म अध्ययन अनुसन्धान गर्ने काम भएको छैन ।
“किराँत इतिहास, भाषा लिपि र संस्कार, संस्कृतिको खोजमा समर्पित चेम्जोङ त्यसबखत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा किराँत भाषा र इतिहासका विशेषज्ञका रूपमा कार्यरत हुनुहुँदो रहेछ, जुनबेला म त्यसै विश्वविद्यालयमा एमएको विद्यार्थी थिएँ । उहाँसँग विश्वविद्यालयपरिसरमा देखभेट हुन्थ्यो । हामी अल्लारेबल्लारेलाई उहाँका अध्ययन अनुसन्धानका विषयमा त्यति चासो हुँदैनथ्यो तर उहाँ भने हामीलाई किराँती भाषा, इतिहास र संस्कृतिका विषयमा डो¥याउन खोज्नुहुन्थ्यो,” प्राध्यापक राईले ‘इमानसिंह चेम्जोङ व्यक्तित्व र कृतित्व’ (२०६१:२८–३३) शतवार्षिकी स्मारिकामा लेख्नुभएको छ ।
यसै गरी विभिन्न व्यक्तिबाट फेला परेका अन्य पाण्डलुलिपि ‘श्रीजंगाको जीवन चरित्र’ (नाटक) नेपाली भाषामा रहेको छ । ‘हाङसदेवा लाङ्जाम्’ (नाटक) लिम्बू भाषामा किराँत लिपि (राष्ट्रिय अभिलेखालयको अभिलेखमा किराँत लिपि र किराँत याक्थुङ चुम्लुङको निर्णय, २०५० अनुसार किराँत सिरिजङ्गा लिपि तथा बोलीचालीमा सिरिजङ्गा लिपि) मा रहेको छ । यसै गरी ‘इमानसिंह चेम्जोङको जीवन चरित्र’ लिम्बू भाषा र किराँत लिपिमा रहेको छ ।
इतिहासविद् चेम्जोङले इलामको करफोक माविमा पढाएताका लेख्नुभएका कृति स्थानीयको घरमा फेला परेको मुन्धुमविद् लाओतीको कथन छ, “इलाममा पढाउँदा माघेगाउँमा डेरामा बस्नुभएको थियो । उहाँका एक जना नेपाल थरका सहयोगीको नामसालिङस्थित पारिवारिक सङ्ग्रहमा एउटा पाण्डुलिपि फेला पारेको छु । अझै उहाँ (चेम्जोङ) का पाण्डुलिपि समाजका पुराना पुस्ताको साथमा हुन सक्छ ।”
प्रारम्भिक कालमा इमानसिंह चेम्जोङ एक शिक्षक हुनुहुन्थ्यो । सिक्किम सरकारको रेभेन्यु इन्स्पेक्टर हुनुहुन्थ्यो । उक्त सरकारी जागिर छाडेर पुख्र्यौली थलो नेपाल फर्किनुभएको थियो । चेम्जोङ लिम्बुवान सुधार सङ्घको संस्थापक अध्यक्ष हुनुभयो । नेपालको २०१५ सालको संसदीय निर्वाचनमा ‘प्रजातान्त्रिक महासभा’ नामको राजनीतिक दलबाट चेम्जोङ लिम्बुवान क्षेत्र नं. २८ बाट उम्मेदवार हुनुभएको थियो । चुनाव चिह्न ‘हात’ थियो तर चुनावको परिणामले साथ दिएन । त्यसपछि उहाँ अध्ययन अनुसन्धानमा मात्रै केन्द्रित हुनुभएको थियो । चेम्जोङले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत नेपाल तथा एसियाली अध्ययन संस्था (इनास, हाल सिनास) मा किराँत भाषा, संस्कृति र इतिहास विशेषज्ञका रूपमा सन् १९६१ देखि १९७५ सम्म काम गर्नुभएको थियो । उतिबेला त्रिविको उपकुलपति रणधीर सुब्बा हुनुहुन्थ्यो ।
इमानसिंह चेम्जोङको व्यक्तित्वबारे मञ्जुल याक्थुम्बाको कथन छ, “लवाइ बिलकुल अङ्ग्रेजी, कुरा गराइ पक्का लिम्बू, निडर, प्रस्ट वक्ता, अर्थपूर्ण सोचाइ, सदैव किराँत जातिको खोज अनुसन्धानमा तल्लीन, मिजास र अनुहार कडा जस्तो देखिए तापनि बडो अनुशासित, संयमी र निष्कपटता उहाँको व्यक्तित्व थियो,” ‘इमानसिंह चेम्जोङ व्यक्तित्व र कृतित्व’ (२०६१:१४८–१५३)’ ।
नेपाल सरकारले इतिहासविद् चेम्जोङको योगदानलाई लिएर उहाँको तस्बिरअङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । यसै गरी पाठ्यपुस्तकमा जीवनी समेटेको छ । उहाँको योगदानलाई चिरस्थायी राख्न परिवार र समुदायले ‘इमानसिंह चेम्जोङ स्मृति प्रतिष्ठान’ भारतको सिक्किम र नेपालका विभिन्न ठाउँमा गठन भई क्रियाशील राखेका छन् । चेम्जोङको जीवनीमा वृत्तचित्र बनेको छ । चुम्लुङले ‘इतिहासविद् इमानसिंह चेम्जोङ पुरस्कार’ प्रदान गर्दै आएको छ । मोरङको पथरी, झापाको हात्तीलेदा, धनकुटाको भेडेटार, पाँचथर, सुनसरीको धरान, ललितपुरको चुम्लुङ हिममा सालिक निर्माण भएका छन् । अन्त्यमा, ‘किरात मुन्धुम्’ (२०५९:११३) को वाक्य यस्तो छ :
वेःस्मा क.ेर.ेक् कुसिङ् निःप्मा क.ेसुक्तुम्ग्र ताग.ेरा निङ्वाःफुमा कुसिङ्निःप्मा क.ेसुक्तुम्रो ।। कुसिङ् निःप्मा साम् यम्बा रो ।। (अरूलाई राम्ररी बुझ्न सके सर्वव्यापी परमात्मालाई बुझ्न सकिन्छ । बुझ्ने ज्ञान ठुलो शक्ति हो ।)
आसेवारो !