रमेश विश्वकर्मा
गुल्मी, पुस १८ गते । गुल्मीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । यस जिल्लाको मालिका गाउँपालिका–६ राम्चेस्थित फुलबारी छाप इश्मा भित्री कच्ची सडक खण्डमा राम्चेबाट पुर्कोटतर्फ जाँदैगरेको सिद्ध ईलिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार बिहान करिब ७ः४० बजेको समयमा विद्यार्थीहरु लिएर पिकनिकका लागि जाने क्रममा धुर्कोट गाउँपालिका–४ जैसिथोकका ४१ वर्षीय चुराबहादुर थापाले चलाउनुभएको लु.प्र.०१–०० ख ०३५५ नम्बरको भाडा बसले र लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकल चालक मालिका गाउँपालिका– ६ मौवाका वर्ष ३६ वर्षीय बसन्त अर्याल र सोही मोटरसाइकलो पछाडी सवार निजको भाउजु अन्दाजी ५५ वर्षीय मनकला अर्याल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गाबहादुर सारुले जानकरी दिनुभयो । यसैगरी निज मनकला अर्यालको नाति अन्दाजी ५ वर्षका अनुभव गिरी घाइते हुनुभएको छ ।
बसमा सवार मालिका गाउँपालिका–६ राम्चेका अन्दाजी ४१ वर्षीय शिक्षिका लिलावति अर्याल समेत सामान्य घाइते हुनुहुन्छ । घाइतेहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल गुल्मीमा पठाएको छ । बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।