राधा लुइटेल
फिदिम, पुस १७ गते । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका ४ मा अवस्थित सुम्हात्लुङ गडी क्षेत्रमा यतिखेर मौलिकताको गुञ्जायस छ ।
किराँत लिम्बूको सांस्कृति पर्व चासोक तङनामका अवसरमा लागिरहेको चासोक मेलामा मौलिक संस्कृतिहरुको पदर्शन, प्रवर्धन मात्रै भइरहेको छैन । यहाँ विभिन्न जातजाती र भाषाभाषिका मौलिक पहिरन, गरगहना र कृषि युगको सुरुवातदेखि मानव जातीले प्रयोग गरेका औजार उपकरणसम्मको प्रदर्शनी भइरहेको छ ।
मेला आयोजना स्थलमा किराँत संस्कृति र सभ्यता झल्किने पोशाक र गरगहना लगाएका मानिसहरु आउजाउ गरिरहेका भेटिन्छन् । स्टलहरुमा पनि रैथाने उत्पादनको प्रदर्शनी र बिक्री भइरहेको छ ।
दिउँसो लिम्बू, राई, शेर्पा, तामाङ र मगरसहित विभिन्न जातजातीका संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ भने राति दौंतरीहरु एक अर्काका हात समातेर धान नाच्छन् ।
किराँतहरुको महान पर्व चासोक तङनामका अवसरमा यहाँ चासोक प्रत्येक वर्ष चासोक मेला आयोजना गरिन्छ । यो वर्ष पुस १० देखि सुरु भएको मेला २० गतेसम्म सञ्चालन गरिने मेला फिदिम नगरपालिका ४ का वडाध्यक्ष उपेन्द्र लावतीले बताउनुभयो ।
किराँत संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले लगाइने यो मेलामा पाँचथरसहित कोशी प्रदेशमा बाहुल्य रहेका जाती जनजातिका संस्कृति झल्किने क्रियाकलाप र मौलिक खानाका स्टल राखिएका छन् । उहाँका अनुसार चासोक मेलामा रैथाने संस्कार र संस्कृतिको जगेर्नासँगै खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धन गर्न यस्तो मेला लगाइएको हो ।
मेलाको आयोजना सुम्जिरि सुम्हात्लुङ आम्वेपज संरक्षण प्रतिष्ठान र प्रवर्धन फिदिम नगरपालिकाको ४ नम्बर वडाले गरेको हो ।

