• १५ पुस २०८२, मङ्गलबार

एनभिए कप : एपिएफमाथि पुलिसको प्रतिस्पर्धात्मक जित

blog

अङ्क जोडेपछि पुलिसका खेलाडी ।

काठमाडौँ, पुस १५ गते । विभागीय टोली नेपाल पुलिस क्लबले नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ एपिएफ क्लबमाथि प्रतिस्पर्धात्मक जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा मङ्गलबार भएको विभागीय डर्बीमा पुलिसले एपिएफ क्लबलाई ३–२ को सेटमा स्तब्ध बनायो ।

प्रतिस्पर्धात्मक खेलको सुरुवाती दुई सेट पुलिसले २५–२१, २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि एपिएफले उत्कृष्ट पुनरागमन गर्दै २५–२२, २५–२१ को नतिजा निकाल्यो । निर्णायक तथा अन्तिम सेटमा पुलिसले १५–९ को जित हात पारेको हो । 

यसैगरी मङ्गलबार नै भएको पुरुषतर्फको खेलमा खिल्जी युवा क्लब ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

खिल्जीले ढोरपाटनमाथि २५–१५, २५–१९, २५–२३ को जित निकालेको हो । क्वार्टर फाइनलमा खिल्जीले विभागीय टोली आर्मीसँग खेल्ने छ । ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ । 

नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिता पुस १९ गतेसम्म चल्ने छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिला आठ टोलीले भाग लिएका छन् ।