सियोल, पुस १५ गते । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्ना समकक्षी सी जिनपिङको निमन्त्रणामा आगामी आइतबारदेखि बुधबारसम्म चीन भ्रमण गर्ने योजना बनाउनु भएको छ । यो भ्रमण सन् २०१९ पछि दक्षिण कोरियाली नेताको पहिलो चीन भ्रमण हुने छ ।
ली र सीले अन्तिम पटक नोभेम्बरमा दक्षिण कोरियाली सहर ग्योङ्जुमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा भेट्नु भएको थियो । यस भ्रमणमा राष्ट्रपति लीले आफ्ना पूर्ववर्ती युन सुक येओलको नेतृत्वमा बिग्रिएका द्विपक्षीय सम्बन्धलाई सुधार्ने र चीनसँग पुनः स्थापना गर्ने प्रयासमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
सियोलले दशकौदेखि चीन र यसको मुख्य सुरक्षा ग्यारेन्टर संयुक्त राज्य अमेरिकाबिच सन्तुलन कायम राख्दै आएको छ । सन् २०१६ मा अमेरिकामा निर्मित थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्ने निर्णयपछि चीनसँगको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि बेइजिङले दक्षिण कोरियाली व्यवसायमा आर्थिक प्रतिबन्ध लगाएको र समूह भ्रमणमा रोक लगाएको थियो ।
सांस्कृतिक विवाद, जस्तै कोरियाली परिकार किम्चीको उत्पत्ति सम्बन्धी चीनको दाबीले पनि दक्षिण कोरियाली जनमतमा असर पारेको छ । सन् २०२२ मा पहिलो पटक गरिएको मतदानमा दक्षिण कोरियालीले जापानभन्दा चीनप्रति बढी अविश्वास व्यक्त गरेका थिए र यो प्रवृत्ति पछिल्ला वर्षमा जारी छ ।
प्राविधिक रूपमा उत्तर कोरियासँग युद्ध अवस्थामा रहेको दक्षिण कोरियाले बेइजिङसँगको सम्बन्धलाई पनि संवेदनशील रूपमा व्यवस्थापन गर्दै आएको छ । गत महिना राष्ट्रपति लीले चिनियाँ नेतालाई उत्तर कोरियासँग बिग्रिएको सम्बन्ध सुधार्ने सियोलको प्रयासमा साझेदारका रूपमा प्रस्तुत गर्नु भएको थियो । यसैबिच चीनसँग बढ्दो विवादमा दक्षिण कोरिया जापानको पक्षमा रहने हो कि भन्ने पत्रकारले सोधेका प्रश्नमा राष्ट्रपति लीले भन्नुभयो, “पक्ष लिनुले केवल तनाव बढाउँछ ।” रासस/एएफपी