• १५ पुस २०८२, मङ्गलबार

दाङमा चार लाख ३१ हजार मतदाता कायम

blog

घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, पुस १५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा चार लाख ३१ हजार छ सय ८६ बढी मतदाता कायम भएका छन् । जसमा दुई लाख १३ हजार तीन सय ८० पुरुष, दुई लाख १८ हजार तीन सय तीन जना महिला र तीन जना अन्य समुदायका मतदाता रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनु भएको छ । 

यसअघि जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेका थिए । जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १६ हजार सात सय ७० जना मतदाता थप भएका छन् ।  निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा एक सय ५९ वटा मतदानस्थल र चार सय ८२ वटा मतदान केन्द्र कायम गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुवँरले जानकारी दिनु भएको छ । 

सूचना अधिकारी कुवँरका अनुसार निर्वाचनका लागि एक सय ५९ वटा मतदानस्थल र चार सय ८२ वटा मतदान केन्द्र कायम गरिएको छ । यसअघि जिल्लामा एक सय ७६ वटा मतदानस्थल र चार सय ६५ वटा मतदान केन्द्र रहेका थिए । जिल्लामा आगामी निर्वाचनका लागि छ वटा मतदानस्थल थप भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् ।