• २१ चैत २०८२, शनिबार

अंग्रेजी नयाँ वर्षमा नेपालगन्जका होटलमा विशेष प्याकेज

blog

फाइल तस्बिर।

नेपालगन्ज, पुस १५ गते । नेपालगन्जमा रहेका होटलले अंग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका लागि विशेष प्याकेज घोषणा गरेका छन् । 

खासगरी यहाँ रहेका तारे होटलले ‘क्रिसमस डे’ बाट लागु हुने गरी र साना होटलले खाना तथा आवासमा छुट दिने गरी प्याकेज बनाएका हुन् । 

नेपालगन्जको कारकाँदोमा रहेको तारे होटल सिद्धार्थ भ्यूले ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै आवास तथा खानमा विशेष छुटको घोषणा गरेको छ । होटलका प्रबन्धक बद्री कोइरालाले खानामा १५ प्रतिशत र आवासमा ४० प्रतिशत छुट रहेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगन्तुक पाहुनाले कस्तो प्याकेज मन पराउनु हुन्छ । त्यस्तै प्रकारको प्याकेज पाउन सक्नु हुन्छ ।” 

सो प्याकेज यही पुस १० देखि १७ गतेसम्म एक साताका लागि रहने कोइरालाको भनाइ छ ।  प्रबन्धक कोइरालाले बुधबार हुने ‘न्यू इअर इभ’ मा चर्चित गायक प्रकाश सपुतलगायतका कलाकारको प्रस्तुति रहने जानकारी दिनु भयो । 

अर्को तारे होटेल स्टार लाइटले पनि ‘न्यू इअर इभ’ मा विशेष कार्यक्रम आयोजना गर्दै छुटको घोषणा गरेको छ । सो कार्यक्रममा प्याकेज अनुसारको छुट रहेको उल्लेख गर्दै आवासमा समेत छुट दिन सकिने जनाएको छ । 

“युवा पुस्तालाई आकर्षण गर्ने गरी प्याकेज बनाएका छौँ,” स्टार लाइट होटेलका अप्रेसन म्यानेजर रचित श्रेष्ठले भन्नुभयो । उहाँले २०२५ को अन्तिम दिन अर्थात् बुधबार विशेष कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहने बताउनु भयो । 

होटेल पौवाले अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गर्दै खानामा प्याकेज अनुसार छुट दिने जनाएको छ । पौवाका प्रबन्धक गिरीराज पाण्डेले विशेष आकर्षक प्रस्तुतिसहित सुपथ मूल्यमा खानाको स्टल लगाइने र ग्राहकले आफ्नो क्षमताअनुसार खानामा खर्च गर्ने बताउनु भयो । 

त्यसैगरी सुनाखरी होटलले ‘न्यू इअर इभ’का लागि खानामा २० प्रतिशत छुट दिने भएको छ । सुनाखरी होटेल तथा रेस्टुरेन्ट प्रालिका प्रबन्ध निर्देशक घनश्याम शर्माले दुई दिनका लागि सुप लगायतका केही परिकार निःशुल्कसमेत हुने उल्लेख गर्नुभयो ।

यसबाहेक यहाँ रहेका होटलहरू कलपतरु, सिटी प्यालेस, वाटिका, स्नेहा लगायतले बर्सेनि विभिन्न कार्यक्रमसहित ग्राहकलाई खाना तथा अवासमा छुट दिने गरेका छन् । यहाँका तारे होटेलका ग्राहक अधिकांश भारतीय हुने गर्छन् । 

होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, बाँकेका उपाध्यक्ष रेशम पोखरेलले जिल्लामा दर्ता भएका होटेल ६५० र अन्यसहित एक हजार ५०० को हाराहारीमा साना तथा ठुला होटेल भएको जानकारी दिनु भयो । रासस