रमेश विश्वकर्मा
गुल्मी, पुस १५ गते । पूर्वी गुल्मीको एक विद्यालयलाई ‘तीन तारा’ विद्यालय घोषणा गरिएको छ । यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ मा अवस्थित जिवनोद्वार माध्यमिक विद्यालय ‘तीन तारा’ विद्यालय घोषणा भएको हो । नेपाल सरकारको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७६ अनुसार यस विद्यालयलाई ‘तीन तारा’ विद्यालय घोषणा गरिएको बताइएको छ ।
नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित छ ।
नेपाल रेडक्रस सोसाइटी र कालीगण्डकी गाउँपालिका गुल्मीको संयुक्त लगानी तथा यस विद्यालयको प्रयासमा ‘तीन तारा’ घोषणा गरिएको हो । त्यस अवसरमा गाउँपालिका वेदबहादुर थापाले नेपाल सरकारको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७६ अनुरुप मापदण्ड पुगेकाले विद्यालयलाई ‘तीन तारा’ घोषणा गरिएको बताउनु भयो ।
घोषणा गर्नका लागि आवश्यक भएका सुचाङकको स्व–मूल्याङ्कनसँगै विद्यालयको निरन्तर अनुगमन गरी जवाफदेहिताका लागि काम गरिएको उहाँले बताउनु भयो ।
तीन ताराको स्तरमा पुगेको विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पहुँचयुक्त सुरक्षित खानेपानी र शौचालयको सुविधा, विद्यालयमा फोहोरमैला व्यवस्थापन, साबुन पानीले हात धुने सुविधा, विद्यालयमा फूलबारी बगैँचाको व्यवस्था, दिवा खाजाको व्यवस्था गरिएको हुन्छ । स्वच्छता शिक्षामा जोड, स्वच्छता सुविधाका संरचना निर्माण, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्थासँगै विद्यालयमा सरसफाइयुक्त व्यवहार परिवर्तनका साथै खानेपानी सरसफाइ मर्मत सम्हार कोषको व्यवस्था हुने गर्छ ।
आगामी दिनका लागि विद्यालयको जिम्मेवारी बढेको भन्दै उहाँले तीन तारा विद्यालय घोषणा गर्नु ठुलो कुरा नभएको हुँदा यसलाई दिगो बनाउनका लागि विद्यालयका शिक्षक, विद्यार्थी सबै लाग्न जरुरी रहेको बताउनुभयो । विद्यालयको शैक्षिक माहोलको वातावरणलाई अत्यन्तै अनुकुल बनाउँदै लैजानु पर्छ । गुणस्तरीय शिक्षाका लागि स्वास्थ्य तथा पोषण अन्तर्गत विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइको सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई महत्त्वपूर्ण पक्षको रूपमा लिएको अध्यक्ष थापाले बताउनु भयो ।
विद्यालमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्धन गर्ने कार्यमा सरोकारवाला निकायहरू बिच कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा एकरूपता कायम गर्न तथा समन्वय, सहकार्य गरी विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार सबै लाग्नु पर्ने बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रमका यस पालिका संयोजक खिम वलीले तीन तारा विद्यालय घोषणा गर्ने वातावरण सिर्जना गर्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । सबैको सहकार्यमा दुई वर्षको प्रयासपछि घोषणा गर्न सम्भव भएको उहाँले बताउनु भयो ।