टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), पुस ११ गते । इस्मा गाउँपालिका–१ को विपि पार्क खेल मैदानमा सञ्चालन भएको छैठौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगीतामा चार विद्यालय सेमिफाइलमा प्रवेश गरेका छन् ।
जिल्लाका महेन्द्र मावि, रेसुङ्गा मावि, उपल्लो तम्घास मावि र पालुखा मावि सेमिफाइनलमा प्रवेश गरेका हुन् । बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा महेन्द्र माविले सिद्धबाबा माविलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । महेन्द्र माविको जितमा दुवै गोल भुवन मगरले गर्नुभयो ।
दोस्रो क्वाटरफाइनलमा रेसुङ्गा माविले अर्जुन इङलिस बोर्डिङ स्कुललाई ४–१ को अन्तरले हराउँदै सेमिफाइनलमा आफुलाई सुरक्षित गरेको थियो । रेसुङ्गाको जितमा आदेश बिकले दुई गोल गर्दा प्रशान्त कुँवर र निश्चल बरईले समान एक–एक गोल गर्दा पराजित अर्जुन इङलिस बोर्डिङ स्कुलका लागि लवसन सुनारले एक मात्र सान्त्वना गोल फर्काएको फोर्टिन स्टार युवा क्लबका अध्यक्ष नरायण आचार्यले जानकारी दिनुभयो । तेस्रो क्वाटरफाइनल खेलमा उपल्लो तम्घासले रिडर्स पब्लिक स्कुललाई २–० ले हरायो र सेमिफाइनलको यात्रा तय गर्न सक्यो । उपल्लो तम्घासको जितमा छविलाल काला र लोपसन बिकले समान एक–एक गोल गर्नुभएको थियो ।
चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा पालुखा माविले आदर्श विद्या आश्रमलाई पेनाल्टी शुटआउट मार्फत ४–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछिको पेनाल्टी शुटआउट पालुखाका लागि राम्रो अवसर बनेको आचार्यले बताउनुभयो । आज महेन्द्र र उपल्लो तम्घास तथा रेसुंगा मावि र पालुखा माविबिचको प्रतिस्पर्धाबाट दुई विद्यालय फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगीतामा १४ विद्यालयले सहभागीता जनाएका थिए ।