वसन्त पराजुली
नारायणगढ, पुस ११ गते । नेपालको मौलिक पहिचान बनेको हात्तीपोलो खेल लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय नगरी सौराहामा शुक्रबारबाट सुरु हुन लागेको हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला विश्वमै निकै महìवपूर्ण मानिएको हात्तीपोलो खेल लोप हुने चिन्ता व्यक्त गरिएको हो ।
हाल बन्द अवस्थामा रहेको टाइगर टप्स होटेलका प्रशासकीय प्रबन्धक रामसिंह गुरुङले हात्तीपोलोले चितवनको पर्यटनलाई चिनाएको भए पनि अहिले उक्त खेल हुन नसक्नु दुःखद भएको बताउनुभयो । “विसं २०३८ मा टाइगर टप्स होटेलले नै सुरुमा यो खेल मेघौलीमा खेलाएको थियो,” उहाँले थप्नुभयो, “टाइगर टप्स होटेल बन्द भएयता हात्तीपोलो पनि बन्द जस्तै हुन पुगेको छ ।”
हात्तीपोलो विशेषतः विदेशी पर्यटकलाई आर्कषण गर्नका लागि हात्तीमा बसेर खेलिने खेल होे । साढे चार दशकदेखि हुँदै आएको यो खेल पछिल्ला केही वर्षयता भने हुन सकेको छैन । टाइगर टप्स होटेलले २०७२ सालसम्म यो खेल खेलाएको देखिन्छ । “२०३८ सालदेखि २०६९ सालसम्म त यो खेल मेघौलीमै खेलाइयो । पछि दुई वर्ष नवलपरासीको अमलटारीमा र दुई वर्ष बर्दियामा खेलाइएको थियो,” प्रबन्धक गुरुङले थप्नुभयो, “नेपाल पर्यटन वर्ष २०२० मनाउँदै गर्दा सौराहामा यो खेल खेलाइए पनि पछिल्ला वर्ष यो खेल हुन सकेको छैन ।”
उहाँ पछिल्लो समय वन्यजन्तु अधिकारका क्षेत्रमा वकालत गरिरहेका अधिकारकर्मीको विरोधका कारण पनि यो खेल हुन नसकेको बताउनुहुन्छ । “हात्तीपोलोले त नेपालको पर्यटन विश्वसामु प्रचारप्रसारमा सहयोग पुगेको थियो । टाइगर टप्स होटेल हुँदा यो खेल खेल्न र हेर्न मात्रै पनि विश्वभरबाट पर्यटक चितवन आउँथे । अहिले त्यो व्रmम रोकिएको छ,” उहाँले भन्नुभयो ।
हात्तीपोलो सय मिटर चौडा र ७० मिटर फराकिलो मैदानमा खेलाइन्छ । हात्तीमाथि खेलाडी बसेर लौरोको सहाराले मैदानमा रहेको बललाई विपक्षीको पोस्टमा छिराइने खेल नै हात्तीपोलो हो । यो खेलमा एक टिममा चार वटा हात्ती राखेर विपक्षीको टिमको पोस्टमा बल प्रहार गरी खेलिन्छ ।
वन्यजन्तुविद् डा. बाबुराम लामिछाने प्राकृतिक रूपमा महìवपूर्ण मानिने हात्तीलाई पर्यटक आर्कषण गर्ने नाममा खेलकुदमा सहभागी गराइनु गलत भएको बताउनुहुन्छ । “संरक्षणका दृष्टिले हात्तीलाई कुनै पनि खेलकुदमा लगाइनु हुँदैन,” उहाँले भन्नुभयो । अधिकारकर्मीले जङ्गलमा रहने हात्ती जङ्गलमै स्वतन्त्र रूपमा बाँच्नका लागि छोडिनुपर्नेमा माया र करुणा नहुने गरी मनोरञ्जन तथा स्वार्थका लागि नियन्त्रणमा राखेर खेल र तमासा गराउनु गलत भएको जिकिर गर्दै आएका छन् ।
नेपालमा हात्तीपोलो खेल घोडापोलोबाट प्रभावित भएर खेलाइएको देखिन्छ । विश्वका विभिन्न क्षेत्रमा घोडापोलो खेलिन्छ । विशेष गरी ब्रुनाईमा यो खेल बढी प्रचलित रहेको छ । हात्तीपोलो जस्तै हात्ती दौड, हात्तीको फुटबललगायतका गतिविधि पनि अहिले रोकिएका छन् ।
हात्ती महोत्सव तयारी पूरा
शुक्रबारबाट सुरु हुने हात्ती महोत्सवको तयारी पूरा भएको छ । महोत्सव बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्दै हुनुहुन्छ । महोत्सवमा हात्तीका गतिविधि, हात्तीको -याली, हात्ती वनभोज, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको स्वास्थ शिविर जस्ता गतिविधि हुने भएका छन् । महोत्सव पुस १३ गतेसम्म चल्ने छ ।