• ११ पुस २०८२, शुक्रबार

चार महिनाका बालकको पाँच किलोको टाउको, आर्थिक अभावले भएन उपचार

blog

छोराको साथमा आमा रूपमा पार्की

बैतडी समाचारदाता

बैतडी, पुस ११ गते । जन्मँदै पाँच किलोको टाउको भएका यहाँका एक बालकको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । शल्यक्रिया गरेर जन्मेका बालकलाई थप उपचारका लागि चिकित्सकले रेफर गरे पनि गरिबीका कारण बालकका आफन्तले चार महिनासम्म उपचार गर्न सकेका छैनन् । बालकको उपचार त कता हो कता भोकमरीले आमाको दुध सुकेपछि बालकलाई अहिले पाउडरको दुध खुवाउने गरिएको छ ।    

शिवनाथ गाउँपालिका–६, कनालीकी रूपमा पार्कीका चार महिनाका बालक आयुष पार्कीको गएको भदौ १९ गते डडेलधुरा अस्पतालमा शल्यक्रियामार्फत जन्म भएको थियो । जन्मँदै पाँच किलोको टाउको भएका बालकलाई तत्कालै चिकित्सकले उपचारका लागि काठमाडौँ रेफर गरेका थिए । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले गाडीभाडासमेत नहुँदा काठमाडौँ जान नसकेको रूपाले बताउनुभयो ।  

उपचार गरे बालक निको हुने चिकित्सकले सल्लाह दिएका छन् । बालकका बुवा भारतमा ज्यालामजदुरी गर्दै आउनुभएको छ । श्रीमान्को सल्लाह अनुसार उपचारका लागि भारत जाँदा मजदुरी गरेको कमाइ उतै सकियो । त्यहाँ चिकित्सकले उपचर गर्न १० लाख रुपियाँ खर्च लाग्ने भनेपछि निराश भएर घर फर्केको बालककी आमाले पीडा सुनाउनुभयो । 

उपचारको याचना गर्दै बुधबार शिवनाथ गाउँपालिका आइपुग्नुभएकी रूपा पार्कीले काठमाडौँ जाने गाडीभाडासमेत नभएको पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “छोरालाई उपचार गराउने कहाँ हो कहाँ, काठमाडौँ जानका लागि बसभाडा त छैन ।” सामान्य दलित परिवारकी रूपा उपचारको याचना गर्दै भोकभोकै वडा कार्यालय हुँदै गाउँपालिकासम्म भौतारिँदै आउनुभएको छ । बस्ने घर केही वर्षअघि गाउँपालिकाले बनाइदिए पनि छाक टार्न उहाँका श्रीमान् भारतमा मजदुरी गर्दै आउनुभएको छ ।  

उहाँले घरमा गोरस नभएको र गाउँमा दलितलाई दुध दिने चलन नभएकाले भारतको पिथौरागढबाट पाउडरको दुध ल्याएर खुवाउने गरेको बताउनुभयो । 

छरछिमेकीले केही रकम सहयोग गरेपछि बुधबार च्याउरीका श्रीमान् पाउडरको दुध किन्न पिथौरागढ जानुभएको छ । यता सासूआमासँगै रूपमा पार्की  चार महिनाका बालकलाई काखी च्यापेर भोकभोकै गाउँपालिका धाउँदै आउनुभएको छ । अहिलेसम्म कतैबाट आर्थिक सहयोग नजुटेपछि निराश हुनु परेको परिवारको गुनासो छ । 

बालकको उपचारका लागि लाखौँ रुपियाँ जुटाउन नसक्दा मनकारी भेटिने आशामा स्थानीय रेडियोमा धाए पनि अहिलेसम्म कतैबाट सहयोग जुट्न सकेको छैन । बालकका परिवारको आर्थिक अवस्था दयनीय रहेको शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो । 

स्वास्थ्य शाखा प्रमुखसमेत रहनुभएका महताले भन्नुभयो, “उपचार गर्न सके बालको टाउको सामान्य बन्न सक्छ । यद्यपि उपचारमा ८/१० लाख रुपियाँ खर्च लाग्ने देखिन्छ । त्यति धेरै पैसा गाउँपालिकाले बेहोर्न त सक्दैन । पालिकाको आर्थिक सहयोग गर्ने मापदण्ड अनुसार सक्दो सहयोग गर्छौं ।”

शिवनाथ गाउँपालिकाले २५ हजार रुपियाँसम्म आर्थिक सहयोग गर्ने कार्यविधि छ । गरिबलाई थप एक लाख रुपियाँसम्मको उपचारका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने गरिएको छ ।