• ८ पुस २०८२, मङ्गलबार

क्यामरा जडानपछि चोरीसिकारी नियन्त्रण

blog

लमजुङ समाचारदाता 

लमजुङ, पुस ८ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामरा राखिएपछि वन्यजन्तुको अवैध चोरीसिकारीमा नियन्त्रण भएको छ । चोरीसिकारी नियन्त्रण तथा वन्यजन्तुको निगरानीका लागि संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको हो ।

एक्यापका इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद रेग्मीले क्यामरा जडानपछि वन्यजन्तुको चोरीसिकारी भएको नभेटिएको बताउनुभयो । उहाँले यहाँका जङ्गलमा पाइने विभिन्न प्रकारका वन्यजन्तु तथा चराचुरुङ्गीको अवस्थाबारे जानकारी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न १५ ठाउँमा राखिएका क्यामरामा वन्यजन्तुको सिकार भएको भेटिएको छैन । बरु कालो भालु, चितुवा, घोरल, रतुवा मृग, नीरबिरालो आदि वन्यजन्तुको अवस्थाबारे जानकारी मिलेको छ ।” रेग्मीका अनुसार एक्याप क्षेत्रका पसगाउँ, तामु, सिङ्दी, भुजुङ, घनपोखराका सैती, सुरलो, सगु, मैदुकुना पाल्मखर्क, रोरोछो, चिसाखर्कलगायतका क्षेत्रमा क्यामरा जडान गरिएको थियो । 

एक्यापले डाँफे, मुनाल, कालिज, वनकुखुरा जस्ता पन्छी र कस्तुरी, मृग, घोरल, थार जस्ता वन्यजन्तुलाई पासो थाप्ने तथा बन्दुकले सिकार गर्ने सम्भावित जोखिमयुक्त क्षेत्रमा क्यामरा जडान अभियान चलाएको छ । एक्याप क्षेत्र अन्तर्गतका ल्वाङ, सिक्लेस, भुजुङ, मुस्ताङ, मनाङका विभिन्न स्थानमा क्यामरा जडान गरिएको छ । इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख रेग्मीका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका अन्य ठाउँमा पनि क्यामरा जडान गर्ने कार्यव्रmम राखिएको छ । रेग्मीले भन्नुभयो, “क्यामरा जडान भएको थाहा पाएपछि सिकारी सतर्क भएको पाएका छौँ । कुन ठाउँमा कस्ता जनावर रहेका छन् र उनीहरूको अवस्थाबारे जानकारी पाउँदा प्रभावकारी देखिएको छ ।”