मकवानपुर समाचारदाता
मकवानपुर, पुस ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्य भएको बताउनुभएको छ ।
उहाँले नेपाली नागरिकको आआफ्नो आस्था र स्वतन्त्रता रहेको भन्दै लोकतन्त्रमा व्यक्ति र पार्टीको आस्था र विचारमाथि प्रहार स्वीकार्य नहुने बताउनुभयो । नेपाली कांग्रेस मकवानपुरको हेटौँडा उपमहानगरपालिका–२ स्थित पार्टी कार्यालय बिपी स्मृति भवन परिसरमा निर्माण गरिएको कांग्रेस मकवानपुरका संस्थापक सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन र बिपी स्मृति वाचनालयको सोमबार उद्घाटन गर्दै उहाँले व्यक्तिको स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले भन्नुभयो, “हरेक नागरिकलाई बोल्ने र लेख्ने स्वतन्त्रता लोकतन्त्रले दिएको हो । पछिल्लो समय स्वतन्त्रताका नाममा छाडातन्त्र मौलाएकाले फरक विचार लिने व्यक्ति र पार्टीको आस्थामाथि प्रहार हुन थालेको छ,” उहाँले भन्नुभयो, “व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड अराजकता मच्चाउने प्रवृत्ति बढ्नु राम्रो होइन ।” अराजकताले लोकतन्त्रलाई संस्थागत र देशको समृद्धिका लागि सहयोग नपुग्ने मुख्यमन्त्री बानियाँको भनाइ छ ।
प्रतिशोधले समाजलाई अगाडि बढाउँदैन । समाजमा होस् वा पार्टीभित्र होस्, पार्टीभित्रको प्रतिशोधको राजनीतिले कोही पनि अगाडि बढ्न सक्दैन । पार्टीभित्र विचारको राजनीति आवश्यक छ । आफ्नो जिम्मेवारी इमानदारीपूर्वक गर्नु पर्छ । पार्टीमा अब विचारको राजनीतिलाई पुनर्जीवन दिनु आवश्यक छ, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री बानियाँले फरक प्रसङ्गमा हेटौँडालाई भत्काएर अस्तव्यस्त र प्रेतआत्माको सहर जस्तै बनाइएको बताउनुभएको छ । उहाँले सङ्घीय सरकार निर्दयी बन्दा हेटौँडाको अहिलेको अवस्था सिर्जना भएको भन्दै निजी भवन भत्काएर खण्डहर बनाइएको र सरकार निर्दयी बन्न नहुने बताउनुभयो ।
“हेटौँडा बजार भत्काएर अँध्यारो बनाइएको छ, खण्डहर बनाइएको छ । बजारलाई भूतबङ्गला जस्तो बनाइएको छ । मानव नभएको प्रेतआत्माको सहर जस्तो बनाइएको छ,” मुख्यमन्त्री बानियाँले भन्नुभयो । पार्टीको नाम उज्यालो रे, अहिले हेटौँडा भत्काएर सबै अँध्यारो बनाइएको छ । खण्डहर र भूतबङ्गला जस्तै बजार बनाएर कुन उज्यालो खोज्ने ? उहाँको भनाइ थियो ।
पूर्वतयारी व्यवस्थापन नगरी हेटौँडा बजारलाई भत्काउने काम गरियो, भत्काउनुअघि समाधान दिएर भत्काउनुपथ्र्यो, अहिलेको अवस्था हेर्दा यो मानवको सहर हो वा मानवरहित सहर हो भन्ने अवस्था छ । भवन भत्काएपछि विद्युत् छैन, घरमा बस्नेको अवस्था के हुने हो, साँझबिहान हिँड्न डरलाग्दो छ । सुरक्षाको अवस्था त्यस्तै छ । घर हुनेको अवस्था दर्दनाक छ, नागरिकमा अन्योल र भय रहेको उहाँको भनाइ छ ।
कार्यव्रmममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कांग्रेस मकवानपुरमा संस्थापक सभापति सूर्यबहादुर डिम्डुङले दलहरू प्रतिबन्धित रहेको अवस्थामा पार्टी सङ्गठन निर्माणमा निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको भन्दै उहाँले लोकतन्त्र स्थापनामा महìवपूर्ण योगदान पु-याएको बताउनुभयो ।