तानसेन समाचारदाता
तानसेन, पुस ८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । उहाँले निर्माण कम्पनीले समयमै सुरुङमार्ग निर्माणमा काम सक्ने गरी आवश्यक सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
आइतबार साँझ पाल्पास्थित सुरुङमार्गको स्थलगत अनुगमन गर्नुहुँदै उहाँले आयोजना पक्ष र निर्माण व्यवसायीबिच निरूपण हुन बाँकी रहेका विषयलाई तत्काल निर्णय गरी टुङ्ग्याउन निर्देशन दिनुभयो । समयमै गर्नुपर्ने निर्णय नगरेका कारणले सुरुङमार्ग निर्माणमा कुनै बहानाबाजी गर्न नपाइने उहाँले बताउनुभयो । उहाँले समयमा निर्माणका लागि ठाउँ उपलब्ध हुन नसकेको, वन कटानमा ढिलाइ भएको, अग्रिम भुक्तानीमा ढिलाइ गरिएकोलगायतका काबुबाहिरको परिस्थिति देखाउँदै निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिएको भन्दै आयोजनाको काममा अवरोध नआउने गरी समाधान निकाल्न आग्रह गर्नुभयो ।
उहाँले आयोजना, परामर्शदाता र निर्माण व्यवसायी बसेर तत्काल समस्या समाधान गर्ने गरी निर्णय गर्न आग्रह गर्दै निर्माणको काम प्रभावित हुन नहुनेमा जोड दिनुभयो । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण हालसम्म्म ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । मुख्य सुरुङ एक हजार ८९ मिटर निर्माणको काम सम्पन्न भइसकेको छ ।
त्यसै गरी १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङ पनि निर्माण सकिएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भिर संरक्षण कार्य, पर्खाललगायतका संरचना निर्माणाधीन अवस्थामा छन् । सुरुङमार्ग निर्माणका लागि २०७८ फागुन २५ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम २०८३ चैतभित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सुरुङमार्ग निर्माण भएपछि सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि सुरक्षित र भरपर्दो यात्रा गर्न सकिने छ भने समय र दुरी घट्ने, दुर्घटना तथा सवारीसाधन खर्च घट्ने आयोजनाको कार्यालय बुटवलले जनाएको छ ।