घोराही समाचारदाता
घोराही, पुस ८ गते । दाङको बङ्गलाचुली गाउँपालिकामा सिमेन्ट उद्योगका कारण प्रभावित स्थानीय र उद्योगबिच १९ बुँदे सहमतिसँगै विवाद समाधान भएको छ । यहाँ भएको छलफलसँगै स्थानीय र सिमेन्ट उद्योग (घोराही सिमेन्ट र सम्राट् सिमेन्ट उद्योग) बिच १९ बुँदे सहमतिसँगै मङ्सिर १५ देखि बन्द रहेका टिप्पर सञ्चालन हुने भएका हुन् । सिमेन्ट उद्योग प्रभावित बङ्गलाचुली गाउँपालिका–४, पन्त टोललगायतका स्थानीयले सडक मर्मत गर्नुपर्ने, पानीको मुहान संरक्षणमा ध्यान दिनुपर्ने, सिमेन्ट उद्योगले प्रभावित भएको जग्गा उद्योगले खरिद गर्नुपर्नेलगायतका माग राख्दै टिप्पर सञ्चालनमा रोक लगाएका थिए ।
सहमति अनुसार घोराही–कमिरेचौर सडक अन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकाको सिमानादेखि पूर्वतर्फको एक किलोमिटर सडक घोराही सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगले संयुक्त रूपमा २०८२ फागुन मसान्तसम्म कालोपत्रे गर्ने सहमति भएको बङ्गलाचुली गाउँपालिका–४, पन्त टोल निवासी छविलाल डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी एक किलोमिटर सडक बङ्गलाचुली गाउँपालिकाको पहलमा सम्बन्धित निकायसँग समन्वय गरी २०८३ कात्तिक मसान्तसम्म कालोपत्रे गर्ने सहमति भएको छ ।
यसै गरी तापाचोकदेखि तापासम्मको सडक तत्काल मर्मत गर्ने, संवेदनशील क्षेत्रमा सुरक्षा पिल्लर निर्माणको काम यही पुस १२ देखि सुरु गर्ने, खानी प्रभावित क्षेत्रमा पानीका मुहान तथा ढल निकासको व्यवस्था स्थानीयसँग समन्वय गरी अघि बढाउने सहमति भएको छ ।