अमरराज नहर्की
तनहुँ, पुस ८ गते । तनहुँको ऐतिहासिक पहिचानका रूपमा निर्माणको क्रममा रहेको भानु–घाँसीग्रामलाई सबै जातजातिको साझा सांस्कृतिक संगमस्थल बनाइने भएको छ । व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा अवस्थित करिब एक सय रोपनी सार्वजनिक जग्गामा फैलिएको यस ग्रामभित्र एउटा ‘खुला जीवन्त सांस्कृतिक संग्रहालय’ निर्माणका लागि आगामी पुस २४ देखि माघ ५ गतेसम्म १२ दिन दमौलीको खुल्ला मैदानमा ‘छैठौं आदिवासी जनजाति सांस्कृतिक महोत्सव’ आयोजना हुन लागेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा हुने यस महोत्सवले केवल जनजाति समुदायको मात्र नभई तनहुँमा बसोबास गर्ने खस आर्य, दलित र अन्य सबै समुदायको मौलिक संस्कृति र ऐतिहासिक वस्तुहरूलाई संग्रहालयमा संरक्षण गर्ने लक्ष्य राखेको छ । सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवबाट सङ्कलित रकमको बचत हिस्सा (करिब १५ लाख रुपियाँ) यसै साझा सङ्ग्रहालयको निर्माण कार्यमा लगानी गरिने घोषणा गरेका छन् ।
सङ्ग्रहालय निर्माणको यो दूरगामी अभियानबारे प्रष्ट पार्दै आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष सनम तामाङले यो महोत्सव सबै समुदायलाई जोड्ने पुल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भानु–घाँसीग्राममा बन्ने सङ्ग्रहालय केवल जनजातिको मात्र हुने छैन, यसमा खस आर्य र दलित लगायत सबैको भाषा, लिपि र संस्कार झल्कने ऐतिहासिक सामग्रीहरू सङ्ग्रहित गरिनेछ ।’’ उहाँले सङ्ग्रहालय निर्माणको सपना साकार पार्न यो महोत्सव एक ऐतिहासिक प्रस्थानविन्दु हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, महासङ्घका पूर्व अध्यक्ष हरिसिंह गुरुङले भानु–घाँसीग्राम बन्ने क्रममा रहेको र यसलाई पूर्णता दिन सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एक सय रोपनी क्षेत्रफलमा फैलिएको यो ग्रामलाई पर्यटकीय हब बनाउन सके यसले सिङ्गो तनहुँको सांस्कृतिक गरिमा बढाउनेछ ।’’ उहाँले सङ्घ, प्रदेश र स्थानीयको गरी तीन सरकारको ६० प्रतिशत मात्रै र बाँकी ४० प्रतिश सङ्ग्रहको ल्याउने समुदायले लगानी गर्ने हुँदा सरकारलाई कम भार पर्ने बताउनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सिद्धबहादुर थापा सिद्धान्त, सचिव जीवन गुरुङ र सल्लाहकार यमबहादुर आलेले महोत्सवमा स्थानीय हस्तकला र अर्गानिक उत्पादनका साथै सबै जातजातिको पहिचान झल्कने झाँकीहरू प्रदर्शन गरिने जानकारी दिनुभयो ।
महोत्सवले आर्थिक चलायमान मात्र नभई भानु–घाँसीग्रामको निर्माण कार्यलाई तीव्रता दिने र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउने आयोजकको विश्वास छ । महोत्सवमा स्थानीय होमस्टे र मौलिक खानपानको प्रवर्धनलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ ।